Main News

नेविसंघको भद्रगोलले सानेपा तनावग्रस्त (भिडियो रिपोर्टसहित)

२०८० साउन २४ गते २०:३६
नेविसंघको भद्रगोलले सानेपा तनावग्रस्त (भिडियो रिपोर्टसहित)

२४ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको हालै घोषणा गरिएको जम्बो तदर्थ समितिलाई लिएर पार्टी केन्द्रीय कार्यालय सानेपा तनावग्रस्त बनेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले घोषणा गरेको समिति पक्षधरले असन्तुष्ट पक्षलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि सानेपा तनावग्रस्त बनेको हो। असन्तुष्ट समूहले पार्टी कार्यालयबाटै समानान्तर समिति घोषणाको तयारी गरेको थियो ।

नेपाल विद्यार्थी संघको विधानअनुसार केन्द्रीय कार्य समितिको संख्या १ सय ५१ जना हो । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान विपरित नेविसंघमा ७ सय ११ सदस्यीय तदर्थ समिति घोषणा गर्नुभयो । सोमबार घोषणा भएको जम्बो तर्दथ समितिलाई लिएर नेविसंघको अर्को पक्ष असन्तुष्ट बन्यो ।

असन्तुष्ट समूहले बुधबार पार्टी कार्यालय सानेपाबाटै समानान्तर समिति घोषणा गर्ने तयारी गर्‍यो ।
तर नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले ठूलो संख्यामा समर्थक लगेर पार्टी कार्यालय जानुभयो । पार्टी नेतृत्वले गेटमा प्रहरी परिचालन गरेर असन्तुष्ट समूहलाई निषेध गर्‍यो ।

दुवै समूहले एक अर्काविरुद्ध नाराबाजी गर्दा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो । मुटभेड हुने जोखिम देखेर प्रहरीले दुवै पक्षलाई पार्टी कार्यालयमा प्रवेश गर्न दिएन । पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि समानान्तर समिति घोषणाका लागि पुगेको समुह थप रुष्ट बनेको छ ।

सभापति देउवाले एकतर्फी तदर्थ समिति बनाएको र इतर पक्षलाई नसमेटेको असन्तुष्टहरुको आरोप छ । विदेशमा रहेका र नेविसंघमा कुनै योगदान नै नगरेकालाई समेत तदर्थ समितिमा राखिएको भन्दै उनीहरुले विरोध जनाए ।

लामो समयदेखि नेविसंघमा अधिवेशन हुन सकेको छैन । अधिवेशन गर्ने जिम्मेवारी सहित २०७८ चैत ९ गते सभापति देउवा देउवाले दुजाङ शेर्पालाई अध्यक्ष तोक्दै तर्दथ समिति घोषणा गर्नुभएको थियो । सोमबार देउवाले उक्त समितिलाई पूर्णता दिन ७ सय ११ जनाको नाम घोषणा गर्नु भएको थियो । जसका कारण नेविसंघ भित्रको भद्रगोल थप छरपस्ट भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *