Main News

धरानमा डेंगु : सरकारी निकायले गरेन सहयोग, निजी क्षेत्रको सक्रियता (भिडियो रिपोर्टसहित)

२०८० साउन २४ गते १६:५३
धरानमा डेंगु : सरकारी निकायले गरेन सहयोग, निजी क्षेत्रको सक्रियता (भिडियो रिपोर्टसहित)

२४ साउन २०८० सुनसरी । सुनसरीको धरान डेंगुको हटस्पट बनेको छ । धरानका प्रत्येक घरमा डेंगु संक्रमित छन् । महामारीको रुपमा फैलिसकेको डेंगु नियन्त्रण र उपचारमा सरकारी निकायले सहयोग गरेका छैनन् ।

यतिसम्म कि सरकारी निकायसँग कुल तथ्यांक समेत छैन । कतिपय संक्रमित परीक्षण तथा उपचारको लागि समेत आर्थिक अभावमा अस्पतालसम्म पुग्न सकेका छैनन् । यो अवस्थामा निजी क्षेत्रले शिविर सञ्चालन गरेर उपचारमा सहयोग गरिरहेका छन् ।

डेंगुका कारण धरान उपमहानगरपालिकामा ९ जनाको मृत्यु भइसकेको छ भने २० हजारभन्दा बढी संक्रमित छन् । हटस्पट बनेको धरानमा उपचारमात्र हाइन, परीक्षण नै हुन सकेको छैन ।

राज्यका संयन्त्रले गम्मीर रुपमा नलिँदा अहिले धरानका प्रत्येक घरमा डेंगु संक्रमित छन् भने प्रत्येक अस्पताल भरिभराउ छन् ।

उपमहानगरले निःशुल्क रुपमा परीक्षण गरेपनि बजेट अभावका कारण उपचारको सेवा दिएको छैन । निम्न आय भएका नागरिक उपचारको पहुँचबाट बाहिर छन् । यसै अवस्था हेरेर विभिन्न वडा कार्यालय र निजी संस्थाले परीक्षण तथा उपचार शिविर संचालन गरिरहेका छन् ।

सुनसरी उद्योग वाणिज्य संघले पनि डेंगु उपचार शिविर शुरु गरेको छ । परीक्षण एवम् उपचारको सहित शिविरका लागि उद्योग वाणिज्य संघले सात वटा वडासँग सहकार्य गरेको छ ।

डेंगुसँगै आवश्यक पर्ने सबै परीक्षण निःशुल्क हुने शिविरमा २० वटा शैय्या राखिएको छ । शिविरमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ।

बिरामीका अवस्था गम्भीर देखिए तत्काल शिविरबाट वीपी प्रतिष्ठानको इमरजेन्सीमा रिफर गर्ने प्रबन्ध मिलाइएको छ । डेंगु देखिएका प्रारम्भिक अवस्थाका बिरामीहरूलाई शिविरमा राखेर उपचार गरिने व्यवस्था गरिएको छ ।

संघले सुरु गरेको शिविरमा एक डाक्टर चार जना नर्स खटिएका छन् । सातै वडा कार्यालयले वडाका स्वास्थ्य स्वयंसेविका शिविरमा खटाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *