Main News

प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै‌ चीन जाने

हिमालय टिभी
२०८० साउन २४ गते १४:०४
प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सिधै‌ चीन जाने

२४ साउन २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ अन्तिम साता अमेरिका जाने र त्यतैबाट चीन जानु हुने भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले मागेको समय पाएकाले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण पनि निश्चित भएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपालकातर्फबाट हुने सम्बोधनको समय र चीनमा आयोजना हुने एसियाली खेलकुदको समय जुधेका कारण अप्ठ्यारो परेको थियो । तर परराष्ट्रमन्त्रालयको पहलमा एकदिन अघि नै महासभामा नेपालले समय पाएको छ ।

नेपालका लागि महासभामा असोज ५ गतेकै समय थियो, उता चीनको हाङ्चाओमा असोज ५ गते नै एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्रालयको पहलमा असोज ४ गते महासभालाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न पाउने समयतालिका निर्धारण भएपछि त्यहाँ सम्बोधन सकेर चीनतर्फ लाग्नुहुनेछ । एसियाली खेलकुद उद्घाटनमा सहभागी भएर प्रधानमन्त्री औपचारिक भ्रमणका लागि वेइजिङ पुग्नुहुनेछ ।

महासभामा भाग लिनुअघि असोज १ देखि २ गतेसम्म न्यूर्योकमै हुने दिगो विकास लक्ष्य एसडीजी सम्मेलनमा पनि प्रचण्डले भाग लिनुहुनेछ । प्रधानमन्त्री प्रचण्डले न्यूर्योकमा भारतीय समकक्षी नरेन्द्र मोदीसहित विभिन्न मुलुकका समकक्षीसँग साइडलाइन वार्ताका लागि तयारी भइरहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

त्यस्तै परराष्ट्रमन्त्री एनपी साउदले सार्क साइडलाइन वार्ताको प्रयास पनि सुरु गर्नुभएकोछ । सार्कको अध्यक्ष भएकाले नेपालले साइडलाइन वार्ताको प्रयास थालेको हो । भारत–पाकिस्तानको द्वन्द्वले सार्क अलपत्र पर्दै आएको छ ।

अमेरिका जानुअघि परराष्ट्रमन्त्री भदौ २९–३० मा क्युवाको हवानामा हुने जी–७७ राष्ट्रको सम्मेलनमा भाग लिन त्यसतर्फ जानुहुनेछ । सो सम्मेलनमा भाग लिएर साउद अमेरिका पुग्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *