टमाटरमा कालाेबजारी ! बढ्यो मूल्य (भिडियो रिपोर्टसहित)
२३ साउन २०८० काठमाडौं । उपभोग्य वस्तुमा बढेको मूल्यको असर हरेक भान्सामा पर्न थालेको छ । एक महिनाअघिसम्म सस्तो टमाटर अहिले किन्नै नसक्ने गरी बढेको छ ।
असार ३ गते त काठमाडौंको कालिमाटी तरकारी बजारमा व्यवसायीले राम्रो मूल्य नपाएको भन्दै सडकमै टमाटर फालेका थिए । त्यतिबेला मूल्य बढाउन व्यापारीले किसानको नाममा टमाटर फालेको आरोप लागेको थियो। यो आरोपमा अहिले ठ्याक्कै मेल खाएको छ ।
कालिमाटी तरकारी बजारमा गत असार ३ गते व्यवसायीले मूल्य नपाएको भन्दै टमाटर फालेर विरोध गरे । त्यतिबेला उपभोक्ताले प्रतिकिलो ३० रुपैयाँ हाराहारीमा टमाटर खरिद गर्दै आएका थिए ।
टमाटर फालेर अभाव सृजना गर्ने र मूल्य बढाउने व्यवसायीले चलखेल गर्ने उद्देश्यले यस्तो हर्कत गरिएको आशंका गरिएको थियो । नभन्दै टमाटर फालेको भोलि पल्ट नै प्रतिकिलो ५० रुपैयाँसम्म पुगेको टमाटरमा भाउ अहिले प्रतिकिलो एक सय ६० रुपैयाँसम्म छ । कालिमाटीको खुद्रा बजारमै एक सय ४० देखि १ सय ५० रुपैयाँ प्रतिकिलो मूल्य रहेको छ ।
टमाटरको भाउ अचाक्ली बढेपछि उपभोक्ता मारमा परेका छन् । काठमाडौंका खुद्रा बजारमा त एक किलो टमाटर किन्न १ सय ७० रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता रहेको उपभोक्ताको गुनासो छ ।
एउटै छानामुनी रहेको कालीमाटी थोक बजारमा प्रतिकिलो एक सय रुपैयाँदेखि एक सय २० रुपैयाँसम्म पाइने टमाटर संगैको खुद्रा पसलमा व्यवसायीले एक सय ५० रुपैयाँ किलोसम्म बेच्ने गरेका छन् ।
यहाँ किलोमै ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म नाफा राख्ने गरिएको छ । उपत्यकाकै अन्य बजारमा एक सय ६० देखि १ सय ७० रुपैयाँ सम्ममा उपभोक्ताबाट असुल्ने गरिएको छ ।
एकातिर अत्यधिक नाफा लिएर बेच्ने प्रवृति र अर्कोतर्फ अहिले भारतमा टमाटरको मूल्य अकाशिएको मौकामा यहाँको टमाटर पनि उतै पठाइने गरेकाले यहाँ पनि मूल्य बढेको व्यापारी नै बताउँछन् ।
टमाटरको मूल्य बढ्दा उपभोक्ता मारमा पर्छन् भने किसानले पनि खासै मूल्य पाउँदैनन् । तरकारीको मूल्य बढ्नुमा बिचौलियाको पनि हात रहेको जानकार बताउँछन् । बिचौलिया र व्यापारीले खुलम खुला कालोबजारी गर्दा पनि नियामक निकाय र सरकार भने लाचार भएर बसिरहेको छ ।
प्रतिक्रिया