Main News

सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति

हिमालय टिभी
२०८० साउन २३ गते १४:०५
सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति

२३ साउन २०८० काठमाडौं । सरकारसँग पाँचे बुँदे सहमति भएपछि गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ ।

गृह मन्त्रालयमा आज भएको वार्तामा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घटनामा मृत्यु भएकाहरुको स्मृतिमा शहीद स्मारक स्तभ बनाउने, घाइतेहरुको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने सहमति भएको छ । सहमतिमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई र संघर्ष समितिका तर्फबाट अध्यक्ष रुपसागर देवी उपाध्यायले हस्ताक्षर गर्नुभयो ।

रौतहटको गौरमा भएको घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन थालेको थियो । संघर्ष समितिले साउन १३ गतेदेखि धर्ना दिनुका साथै प्रदर्शन गर्दै आएको थियो । २०६३ चैत ७ गते गौरस्थित राईसमिलमा तत्कालीन मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टै मोर्चा बनाएर सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो ।

त्यसक्रममा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । झडपमा केही घाइते भएका थिए । त्यसयता अधिकांश समय माओवादी सत्तामै रहँदा पनि घटनाको अनुसन्धान हुन नसकेको भन्दै पीडितले गुनासो गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *