प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया शुरु

२३ साउन २०८० काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ ।
सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा उजुरी भए उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिनुभयो ।
सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने छ । साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सुनुवाइ प्रक्रिया पूरा गरी नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया