देशभर वर्षा, नदीहरुमा बढ्यो जलस्तर, सतर्कता अपनाउन सुझाव
![देशभर वर्षा, नदीहरुमा बढ्यो जलस्तर, सतर्कता अपनाउन सुझाव](https://www.himalayatv.com/wp-content/uploads/2023/06/barsha.jpg)
२३ साउन २०८० काठमाडौं । देशका विभिन्न भागमा अत्याधिक वर्षा भैरहेको छ । बर्षाका कारण नदीहरुको जलस्तर बढेर खतराको तहसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनााएको छ ।
बर्दियाको बबई र कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ । बाढीको सतह बढ्ने क्रममा छ । जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । बर्दियाका रम्भापुर, सानोश्री चेपाङ, औरही खोला गोदना केन्द्रमा अत्यधिक वर्षा भइरहेको छ । दाङका लमही र लालमटिया तथा बाँकेको कुुसुमस्थित वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यो वर्षाले राप्ती नदीको दाङ र बाँके क्षेत्रमा जलसतह बढेको छ । महाशाखाका अनुसार बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ । बाढीले होचा भूभाग र तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने सम्भावना रहेकाले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएस पठाएर सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । यसैगरी आज बिहान सिन्धुलीको रानीबासस्थित बाढी मापन केन्द्रमा कमला नदीको बाढीले पनि सतर्कताको तह पार गरेको छ ।
सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा आज बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ ।
सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खरहे खोलाहरूमा एक्कासी बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ । काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।
प्रतिक्रिया