Main News

विवादित ल्हारक्याल लामामाथि प्रचण्डको अद्भूत प्यार ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २२ गते २०:५९
विवादित ल्हारक्याल लामामाथि प्रचण्डको अद्भूत प्यार ! (भिडियो रिपोर्टसहित)

२२ साउन २०८० काठमाडौं । सरकारले देशको गौरवशाली धार्मिक संस्था लुम्बिनी विकास कोषमा विवादित पृष्ठभूमीका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्त गरेको छ ।

विभिन्न राजनीतिक दलसँग निकट भएर पटकपटक अवसर लिँदै आएका लामालाई यसपटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले लुम्बिनी विकास कोषको जिम्मा लगाएको हो । दुई वटै संविधानसभामा एमाले र माओवादीबाट सदस्य रहेका लामा हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।

ल्हारक्याल लामा को हुन् ? अहिलेको परिचय हो, लुम्बिनी विकास कोषको उपाध्यक्ष । त्यो पनि पाँच वर्षका लागि । नेपाली कांग्रेसको सिफारिसमा वि।सं।२०५८ देखि २०६३ सालसम्म गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका लामा त्यसयता एमाले र माओवादीबाट पालैपालो संविधानसभा सदस्य र अर्थ राज्यमन्त्री भइसक्नु भएको छ ।

यी सबै सफलतामा उहाँको कुनै ठूलो राजनीतिक वा सामाजिक योगदानभन्दा बढी अवसरवादी र विवादित पृष्ठभूमिले काम गरेको छ । २०६४ को संविधानसभामा एमालेबाट समानुपातिक सभाषद बनी २०६७ चैतमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री बनेका लामा लगत्तै दोहोरो नागरिकता, राहादानी र तिब्बती शरणार्थी परिचय पत्रका कारण विवादित बन्नुभयो र पदबाट राजीनामा दिनुपर्यो ।

२०६८ वैशाख ८ गते राजीनामा दिएपछि उहाँका विवादित नागरिकता र राहदानीबारे छानबिन थालिएको थियो । तर राजनीतिक दबाबकै कारण हुन सक्छ, सरकारी संयन्त्रहरुले लामाको नागरिकता र राहदानीबारे छानबिन टुंगोमै पुर्‍याएनन् ।

जतिबेला ल्हारक्यालसँग मिस्टर वाङचुक रिम्पोछे, खेम्पो छिमे छिरिङ, छिमे छिरिङ नामका नेपाली र भारतीय राहदानी तथा तिब्बती शरणार्थीको परिचय पत्र थियो । यो विवादपछि गायब भएका लामालाई तत्कालीन एकीकृत माओवादीले २०७० कात्तिक ५ गते पार्टीमा प्रवेश गरायो र २०७१ माघ २५ गते समानुपातिक सांसदको पदले पुरस्कृत गर्‍यो ।

संविधानसभा सदस्य लामा माओवादीको संरक्षणभित्र पनि विवादमुक्त हुन सक्नुभएन । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले छानबिन बढायो । २०७२ फागुन ३० गते अख्तियारले लामाको नेपाल इन्भेस्टमेन्टको बैंकको लकर खोल्दा लकरमै बन्दुकका १४ थान गोली बरामद भए । ९ करोड ४४ लाखभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन भईरहँदा लकरमै गोली भेटिए पक्राउ पर्नुभयो । उक्त मुद्दामा विशेष अदालतबाट २०७३ सालमा सफाई पाएका लामा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको आरोपमा पुनः पक्राउ पर्नुभयो ।

यी घटनाक्रमले लामाको ठगी र कीर्ते पृष्ठभूमिलाई राम्रैसँग उजागर गरे पनि लगातार प्राप्त राजनीतिक संरक्षणले उहाँ जोगिइरहनु भयो र यीनै समग्र योग्यताको नयाँ पुरस्कार लुम्बिनी विकास कोषको उपाध्यक्ष जस्तो पद पाउनुभएको छ । एकीकृत माओवादीबाट समानुपातिक सांसद बनाउन निर्वाचन आयोगलाई ऐतिहासिक संख्यामा पत्राचार गर्नुभएका माओवादी अध्यक्ष प्रचण्डले यतिबेला आफू प्रधानमन्त्री हुँदा कोषमा लिएर जानुभएको छ । माओवादीका लागि यो बाध्यता थियो कि लामाको विज्ञताको प्रभाव रु संस्कृति मन्त्रीसँगै ठोस जवाफ छैन ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष दौडमा प्रसिद्ध गायिका आनी छोइङ डोल्मा, कोषकै पूर्वउपाध्यक्ष सिद्धार्थ महर्जन, सुमार्ग भिक्षु र भिक्षु कुन्डय लगायत थिए । सम्भवतः कमजोर राजनीतिक प्रभाव भएकाहरुलाई पाखा लगाएर वर्तमान सरकारले ल्हारक्याललाई कोषको साँचो सुम्पिएको छ । विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्रमा विवादित पृष्ठभूमिका लामाको नियुक्तिले अन्तर्राष्ट्रिय रुपमा कस्तो प्रभाव पार्छ, त्यो समयक्रमले देखाउने छ । तर ल्हारक्यालप्रति दलहरु यो उदेकलाग्दो प्रेम किन होला, सम्भवतः यो प्रश्नको उत्तर भेटिने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *