संसद अवरोध हटाउन सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै

२२ साउन २०८० काठमाडौं । संघीय संसदमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल गर्दै हुनुहुन्छ ।
मध्यान्ह १२ बजे दलहरका शीर्ष नेतृत्वसँग सभामुख घिमिरेले छलफल गर्न लाग्नु भएको हो । सभामुख घिमिरेले हिजो पनि राजनीतिक दलहरुका प्रमुख सचेतक र सचेतकहरुसँग भएको छलफल गर्नुभएको थियो । तर संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी नेकपा एमाले तयार नभएपछि सभामुख घिमिरे शीर्ष नेतृत्व तहमै छलफल गर्ने निष्कर्षमा पुग्नु भएको हो।
एक क्लिन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसदको बैठक चल्न दिएको छैन।
यता आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमाले सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको पत्र सभामुख घिमिरिले पढेर सुनाउने उल्लेख छ।
यस्तै कानुन‚ न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची छ।
शिक्षा‚ विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘नेपाल विश्वविद्यालय विधेयक’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्तुत गर्ने कार्यसूची रहेको संघिय संसद सचिवालयले जनाएको छ।
प्रतिक्रिया