Main News

गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सत्तारुढ दलमा बढ्यो आक्रोश (भिडियो रिपोर्टसहित)

२०८० साउन २१ गते २०:२७
गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध सत्तारुढ दलमा बढ्यो आक्रोश (भिडियो रिपोर्टसहित)

२१ साउन २०८० काठमाडौं । तीन वटा प्रकरणमा छानबिन अघि बढाउँदा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको वाहवाही भएको छ ।

भ्रष्टाचारको जालोले थलिएको मुलकुमा नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा सरकारले चालेको आक्रामक कदमको वाहवाही हुनु स्वभाविक हो । तर, आफ्नाको नाम जोँडिदा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको कदममा प्रश्न उठेको छ । बाँकी एमाले, कांग्रेस पनि आफ्ना नेता मुँछिदा आक्रोशित बनेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण
जेठ १० गते प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गर्यो । त्यसमा एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण जस्ता उच्चतहमा रहेका व्यक्ति नै संलग्न रहेकोभन्दै पक्राउ परे । नाम जोडिएका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र खाण पत्नी मञ्जु खाणविरुद्ध सोधपुछ समेत नभएको असन्तुष्टि चुलियो ।

एमालेले आफ्ना नेता पक्राउ परेकामा सोझै आपत्ति त जनाएन तर निर्दोष नफसुन, दोषी नउम्किउन भन्दै असन्तुष्टि जनायो । प्रमुख प्रतिपक्ष एमाले मात्र होइन, सत्तारुढ कांग्रेस नै पनि असन्तुष्ट बन्यो । कांग्रेसको केन्द्रीय समिति बैठकमै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले त कांग्रेसलाई मात्र फसाउँने षड्यन्त्र भएको बताउनुभयो ।

ललिता निवास जग्गा प्रकरण
ललिता निवास जग्गा प्रकरणको फाइल खुल्दा पनि गृहमन्त्री श्रेष्ठको वाहवाही भयो । १ सय ७५ जना विरुद्ध मुद्दा चलाइयो । तर, यो प्रकरणमा जोडिएका सत्तासाझेदार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीसँग सम्बन्ध बनाएका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई उन्मुक्ति दिइयो । यहाँ पनि एमाले असन्तुष्ट बन्यो ।

सुन तस्करी प्रकरण
पछिल्लो प्रकरणको रुपमा सुन तस्करी आयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले असार २९ गते सिनामंगलमा बरामद गर्यो । यो प्रकरणमा १८ जना पक्राउ परिसकेका छन् । त्यसमध्ये बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परे । उनको हिमचिम माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेता ओनसरी घर्ती, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उहाँको परिवारसँग रहेको तस्बीर सार्वजनिक भयो ।

धेरैले उनीहरुको कनेक्सनको शंका गरे । त्यसअघि पुस १० गते इलेक्ट्रिक चुरोट भेपमा ल्याएको ९ किलो सुनमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उहाँका छोरा राहुलको कनेक्सन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग रहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइबीले आफ्नो प्रतिवेदनमै उल्लेख गर्यो । तर, महरा बाबुछोरालाई उन्मुक्ति दिइयो ।

नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा छानबिनको वाहवाही बटुलेको माओवादी नेतृत्व सुन प्रकरणमा प्रश्नको घेरामा जोडिएको छ । अहिले एमालेले यो प्रकरणलाई देखाएर गृहमन्त्री श्रेष्ठ निष्पक्ष हुन नसकेको आरोप लगाएको छ ।

सत्ता साझेदार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त गृहमन्त्री र अर्थमन्त्रीले जवाफ नै दिनुपर्ने माग गर्नुभएको छ । तर माओवादी यी आरोपमा सत्यता नभएको दाबी गर्छ ।

प्रमुख प्रतिक्षी दलसंगै सत्तारुढ दल नेपाली कांग्रेस भित्रै आलोचना बढ्न थालेपछि गृहमन्त्री श्रेष्ठको आगामी दिन चुनौतीपूर्ण देखिएको जानकार बताउँछन् । राज्यका अंगहरुको नियमित काममा समेत आफूले गरको भनेर गृहमन्त्री श्रेष्ठको प्रचारबाजीलाई पनि सत्तारुढ दलकै नेताहरुले मन पराएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *