राजनीति

चार दलीय मोर्चा प्रचण्डको सत्ता टिकाउन मात्र गठन भएको हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन १९ गते २१:००
चार दलीय मोर्चा प्रचण्डको सत्ता टिकाउन मात्र गठन भएको हो ? (भिडियो रिपोर्टसहित)

१९ साउन २०८० काठमाडौं । असार ४ गते तामझामका साथ घोषणा भएको समाजवादी मोर्चा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सत्ता बार्गेनिङको भर्‍याङ मात्रै बन्ने देखिएको छ । चार दल सम्मिलित मोर्चाको अहिलेसम्म एउटा मात्रै औपचारिक बैठक बसेको छ भने नीति तथा कार्यक्रम बनाउन गठन भएको कार्यदलले काम नै थाल्न सकेको छैन ।

राजेन्द्र पाण्डेको भनाइलाई मान्ने हो भने यतिबेला समाजवादी मोर्चाले सातै प्रदेशमा विविध कार्यक्रम गरिसकेको हुन्थ्यो । असार ४ गते काठमाडौंको राष्ट्रियसभा गृहमा जुन उत्साहका साथ मोर्चा घोषणा गरिएको थियो, त्यो उत्साह अहिले शिथिल भइसकेको देखिन्छ । गठन भएको १९ दिनपछि असार २३ मा पहिलो औपचारिक बैठक बस्नुबाहेक मोर्चाले कुनै गतिविधि गर्नै सकेको छैन ।

असार २७ का लागि तोकिएको बैठक पनि बस्न सकेन । मोर्चाको नीति तथा कार्यक्रम र आचारसंहिता बनाउन माओवादी केन्द्रका देव गुरुङ, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र नेकपाका खड्गबहादुर विश्वकर्मा रहेको कार्यदल बने पनि काम शुरु नै भएको छैन । प्रतिनिधिसभामा ५४ सिट सुरक्षित गर्नेबाहेक थप गतिविधि नभएपछि मोर्चामा आबद्ध दलकै नेता मोर्चामाथि सशंकित छन् ।

मोर्चाको अध्यक्षता ६र६ महिनामा पालैसँग गर्ने समझदारी अनुरुप पहिलो अध्यक्षका रुपमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल हुनुहुन्छ । असार २३ कै बैठकले सातै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने निर्णय गरे पनि कहिले र कस्तो कार्यक्रम गर्ने भन्ने टुंगो छैन। मोर्चा अलपत्र परेका विषयमा नेताहरुसँग ठोस जवाफ छैन ।

सत्ता जोगाउनका लागि प्रधानमन्त्री एवं मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनेक जुक्तिमा हुनुहुन्छ । र समाजवादी मोर्चालाई भरपुर प्रयोगको रणनीति लिनुभएको प्रष्ट छ । तर निर्धारीत समयमा कुनै पनि बैठक र छलफल नहुने तर आवद्व दलहरुलाई पार्टी एकता र वैज्ञानिक समाजवादसम्मको लोभ देखाउने क्रमले यो जुक्तिसमेत सफल हुन सक्ला कि नसक्ला भन्नेमा आशंका बढेको हो । बरु समाजवादी नामको मोर्चाले संसदका दुई ठूला दल नेपाली कांग्रेस नेकपा एमालेलाई नजिक हुने र साझेदारी गर्ने बाहना भने अवश्य प्राप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्