Main News

रास्वपाले तोकेको योग्यता सभापतिमा लागू हुन्छ कि हुन्न ? (भिडियो रिपोर्टसहित)

२०८० साउन १९ गते २०:४२
रास्वपाले तोकेको योग्यता सभापतिमा लागू हुन्छ कि हुन्न ? (भिडियो रिपोर्टसहित)

१९ साउन २०८० काठमाडौं । जान्नेलाई छान्ने नारासहित स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो निर्णयले राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । पार्टीका विभिन्न संरचनाको नेतृत्वमा पुग्न चाहनेका लागि शैक्षिकसहितको योग्यता तोकिएको छ । केन्द्रदेखि पालिकासम्म पदाधिकारी गर्न शैक्षिक योग्यता र दक्षता तोकेको छ । जुन नेपालका लागि नौलो अभ्यास हो । तर यसले आगामी दिनमा पार्टीमा विवाद बढाउने देखिन्छ ।

निर्वाचन आयोगमा उम्मेदवारी दर्ताका क्रममा बुझाएको प्रमाण हेर्ने हो भने रास्वपा सभापति रवि लामिछानेको शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र अर्थात् आइए हो ।

तर रास्वपाले केन्द्रीय विभागमा रहने पदाधिकारीको शैक्षिक योग्यता भने स्नातकोत्तर तोकेको छ । केन्द्रीय सभापतिकै शैक्षिक योग्यता पार्टीले तोकेबमोजिम नभएपछि रास्वपाले योग्यतामा अपनाएको अर्को उपाय हो असाधारण क्षमता वा अनुभव । त्यसो भए असाधारण योग्यता चाँहि के हो त ?

पार्टी नै लामिछानेले बनाउनु भएको हो । उहाँमा असाधारण क्षमता योग्यता भए पनि बाँकी आकांक्षीहरुलाई भने योग्यताको प्रमाणपत्रको छेकबार लाग्ने देखिन्छ । सुरुमा नयाँलाइ अवसर दिने भनेको पार्टीले अहिले योग्यता वा अनुभव भन्दै पार्टीमा काम गर्ने अवसरलाई संकुचित गर्दै लगेपछि असाधारण वा अनुभव नामको योग्यता भएकाको हालीमुहाली हुने हो कि भन्ने चिन्ता शुभेच्छुकमा परेको छ ।

रास्वपाको नयाँ नियमअनुसार अब केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश समिति प्रमुख बन्न स्नातकोत्तर उत्तिर्ण भएको हुनुपर्ने छ । साथै यी पदमा रहन सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभाव भएको हुनुपर्ने वा असाधारण क्षमता भएको हुनुपर्ने छ । यसैगरी प्रदेश विभागका पदाधिकारी र सदस्यका लागि स्नातक उतीर्ण हुनुपर्ने छ ।

शैक्षिक योग्यता नभए सम्बन्धित विभागमा ५ वर्ष काम गरेको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने भनिएको छ । पालिका विभागको प्रमुखका लागि कम्तीमा कक्षा १२ उतीर्ण, विभाग अनुसारको क्षेत्रमा २ वर्षे अनुभव वा असाधारण क्षमता हुनुपर्ने मापदण्ड बनाइएको छ । नयाँ पार्टी भएकाले कामको अनुभव पनि न संगालेका र शैक्षिक योग्यता पनि नपुगेकालाई रास्वपाले कसरी समेट्छ त ?

निर्वाचनमा प्रिइलेक्सनको अभ्यास गरेको रास्वपाले अहिले आएर पार्टी पादाधिकारीमा शैक्षिक योग्यताको नयाँ अभ्यास थालेको छ । यो व्यवस्थाले जानेकालाई यो पढेकालाई पार्टीमा समेट्न खोज्ने प्रयास गर्नेछ । तर सभापति आफै र सभापतिले चाहेको व्यक्तिका लागि चाँहि यी मापदण्ड पुरा गरिने छ या असाधारण नामको अमुक प्रमाणपत्रका आधारमा जिम्मेवारी दिइनेछ, यो प्रश्न गम्भीर रुपमा उठेको छ ।

प्रतिक्रिया

One thought on “रास्वपाले तोकेको योग्यता सभापतिमा लागू हुन्छ कि हुन्न ? (भिडियो रिपोर्टसहित)

  1. आफैमा चाहिँ लागु नहुने, अरूलाई बन्देज लगाउने प्रावधान । क्रमशः अभिमान र पतनको मार्ग प्रशस्त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *