Main News

धरानमा अस्पताल पुगेका आधामा डेंगु संक्रमण पुष्टि (भिडियो रिपोर्टसहित)

२०८० साउन ८ गते १७:५७
धरानमा अस्पताल पुगेका आधामा डेंगु संक्रमण पुष्टि (भिडियो रिपोर्टसहित)

८ साउन २०८० धरान । सुनसरीको धरानमा फैलिएको डेंगुको प्रकोप चार महिना वितिसक्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

अहिलेसम्म धरानमा चार जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या दैनिक एक सय पुग्न थालिसकेको छ । तर, स्थानीय सरकारले प्रकोप नियन्त्रणमा ठोस कदम चाल्न सकेको छैन । जसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामीको चाप थेगिनसक्नु भएको छ ।

धरान डेंगी संक्रमणको हटस्पट बन्न थालेको छ । गत बैशाखबाट सुरु भएको डेंगुको प्रकोप असारको दोस्रो सातादेखि ह्वात्तै बढ्यो । अहिले दिनमा एक सयको औसतमा यो रोगको संक्रमण देखिन थालेको छ । धरान उपमहानगरपालिकाको वडा नम्बर ८, ११, १५ र १७ मा संक्रमणको दर उच्च छ । तर, उपमहानगरपालिकाले महामारीको रुपमा लिँदा समेत धरान उपमहानगरपालिकाले प्रभावकारी कदम चाल्न सकेको छैन ।

धरानका प्रत्येक घरमा डेँगुका संक्रमित छन् । तर, उपमहानगरपालिकासँग यसको विवरण छैन । अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर अस्पतालमा परीक्षण गरेकामध्ये दुई हजार जनामा संक्रमण देखिएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा आउनेमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित छन् ।

उपमहानगरपालिकाले ६ सय थान र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक हजार थान परीक्षण गर्ने सामग्री पठाएको छ । डेँगु फैलिएपछि प्रतिष्ठानले एक सातादेखि सातै दिन सञ्चालन हुने गरी छुट्टै निःशुल्क डेँगु क्लिनिक सञ्चालन गरेको छ ।

बिरामीको उपचारमा संलग्न हुने चिकित्सक, नर्स र कर्मचारीनै संक्रमित भएपछि प्रतिष्ठानको दैनिक प्रशासन र अस्पतालको सेवा प्रभावित भएको छ । तीन दिनयता मात्र प्रतिष्ठानका ५० जना भन्दा बढी चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीमा डेंगु भएको प्रतिष्ठानले जनाएको छ ।

यसबाहेक प्रतिष्ठानका विभिन्न प्रयोगशालामा परीक्षण गराएका स्वास्थ्यकर्मी र कर्मचारीको संख्या पनि छ । स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुँदा ओपीडी, आकस्मिक कक्ष, बालरोग र स्त्री तथा प्रसूति विभागको आकस्मिक सेवा, शल्यक्रिया, रेडियोलोजी सेवा समेत प्रभावित भएको छ । डेँगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । डेँगुको ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार सफा पानीमा हुर्कने लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने नीतिलाई निरन्तरता नदिँदा धरानमा फेरि डेंगु फैलिएको हो । डेंगी संक्रमण गराउने एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले जमेको सफा पानीमा फूल पार्छ । तराईमा सीमित रहेको डेंगु पछिल्लो केही वर्षदेखि पहाडमा पनि उक्लिएको छ । २०७६ मा सुनसरीको धरान हुँदै पूर्वका ११ जिल्लामा डेंगु फैलिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *