Main News

घर नै असुरक्षित, पारिवारीक सदस्य नै अविश्वासिला ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ८ गते १६:२९
घर नै असुरक्षित, पारिवारीक सदस्य नै अविश्वासिला ! (भिडियो रिपोर्टसहित)

८ साउन २०८० काठमाडौं । घर– सबैभन्दा सुरक्षित। र, पारिवारीक सदस्य– सबैभन्दा विश्वासिला। तर, पछिल्लो समय घर नै असुरक्षित र पारिवारीक सदस्य अविश्वासिला बन्दै गएको तथ्यांकले देखाउँछ।

परिवारभित्रको कलहले ज्यान लिने क्रम बढ्न थालेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार वार्षिक २ सय जना जतिको पारिवारीक सदस्यकै कारण हत्या हुने गरेको देखिन्छ। र, यो डरलाग्दो समस्याका रुपमा बढ्दो छ।

घटनाः १
असार २४ गते इलामको माईजोगमाई–२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरे। घटनाको कारण खुलिसकेको छैन।

घटनाः २
असार १८ मा पोखराका श्याम पौडेलले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरे। श्याम वैदेशिक रोजगारीबाट फर्किएका हुन्।

यी दुई प्रतिनिधि घटना हुन्, जसले सात जुनी सँगै मर्ने सँगै बाँच्ने कसम खाएर प्रणय बन्धनमा बाँधिएकाको सम्बन्ध बर्बर वियोगान्तमा रुपान्तरण भएका। यसबाहेक श्रीमतिले श्रीमान्, बुबाले छोरा, छोराले बुबा, छोराले आमालगायतको हत्या गरेको घटना बारम्बार आइरहन्छ। घरायसी सामान्य विवाद, दाम्पत्य जीवनको उचारचढाव र शंका–उपशंका र अंशवण्डाजस्ता कारणले परिवार नै एक अर्काका लागि असुरक्षित बन्दै गएका छन्।

पछिलो पाँच वर्षमा २ हजार ७ सय ७१ जनाको हत्या हुँदा परिवारका सदस्याबाट मात्रै १ हजार ५४ जना मारिएका छन्। यो कूल हत्याको ३८ प्रतिशत हो।

अब, पछिल्लो पाँच वर्षको तथ्याङक हेरौं–
वर्ष जम्मा हत्या आफन्तबाट हत्या प्रतिशत
२०७५–०७६ ६५१ १९९ ३०
२०७६–०७७ ५५५ १९० ३४
२०७७–७८ ६९७ २५४ ३८
२०७८–०७९ ५१० २५२ ४९
२०७९–०८० (फागुनसम्म) ३५० १५१ ४३

यो तथ्याङकमा पनि श्रीमानले श्रीमतीको हत्या बढि गरेका छन्। २०७५–०७६ मा ८९, २०७६–७७ मा ७०, २०७७–०७८ १०७, २०७८–०७९ मा ९७ र २०७९–८० को फागुनसम्म ७२ जनाको हत्या भएको छ। पाँच वर्षमा ४३५ जना श्रीमानबाट श्रीमती मारिएका छन भन्ने छोराले १२६ बा–आमाको ज्यान लिएका छन्। हरेक वर्ष कम्तिमा २ सय जनाको हत्या पारिवारीक सदस्यबाटै भएको प्रहरी तथ्याङक छ।

पारिवारीक उतार–चढाव, नैतिक शिक्षाको कमी, सामाजिक सञ्जालको दुरुपयोग, श्रीमान्–श्रीमतीको सम्बन्धमा तेस्रो व्यक्तिको प्रवेश वा विवाह इतर सम्बन्ध, लेनदेन, वैदेशिक रोजगारीलगायतका कारण परिवारवारिक अपराधका घटना बढ्दै गएको मनोविद् बताउँछन्।

हत्यारालाई जन्मकैदसम्मको ब्यावस्था छ। तर, पेशवर प्रकृतिका अपराध जतिकै डरलाग्दो गरी घरभित्रै अपराध बढिरहेको तथ्याङकले देखाउछ। कूल हत्यामध्ये झण्डै ४० प्रतिशतमा पारिवारीक सदस्य नै संलग्न हुनुले यो समस्याबाट परिवार र समाज अझैं दपेटिने निश्चित छ। तर, यसको निराकरणमा राज्यको पर्याप्त ध्यान जान भने सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *