Main News

उत्तरको ओहोर-दोहोर : सीपीसीका पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौंमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ७ गते २०:५२
उत्तरको ओहोर-दोहोर : सीपीसीका पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौंमा (भिडियो रिपोर्टसहित)

७ साउन २०८० काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुग्नुभएको छ ।

नेकपा माओवादी केन्द्रको निमन्त्रणामा युआन काठमाडौँ आउँदा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली हुनुहुन्छ भने अन्य माओवादी नेता भने भारत पुगेका छन्। श्रीलंका हुँदै नेपाल आइपुग्नुभएका युआनको तीन दिने बसाई आगामी सेप्टेम्बरमा हुने प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण र बिआरआईबारे नेपालको धारणा बुझ्नमा केन्द्रित हुनेछ ।

आइतबार अपराह्न चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका उच्चस्तरीय टोली त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ ओर्लियो । उच्चस्तरीय टोलीको नेतृत्व गर्नुभएको थियो, युआन च्या च्युनले । उहाँलाई माओवादीका महासचिव देव गुरुङले स्वागत गर्नुभएको थियो ।

तीन दिने भ्रमणको कार्यतालिका तय गरेर नेपाल आइपुग्नुभएका युआनले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ । उहाँले भ्रमणका क्रममा कम्युनिष्ट पार्टीका अन्य नेतासँग पनि भेट गर्ने कार्यक्रम छ ।

युआनको भ्रमणको तालिका तय गर्न शनिवार नै चीनको नेपाल मामला प्रमुख सरला शनिवार नेपाल आइपुग्नभएको थियो । युआन खासमा माओवादीकै निमन्त्रणामा नेपाल आउनुभएको हो । तर, यही बेला प्रधानमन्त्री पुष्पकमल दाहाल भने इटाली जानुभएको छ । अन्य माओवादी नेता भने भाइचार बढाउन भन्दै भाजपाको निमन्त्रणामा भारत पुगेका छन् । भ्रमणको नेतृत्व पम्फा भुसालले गर्नुभएको छ ।

को हुन् युआन च्या च्युन ?
आइतबार नेपाल भ्रमणमा आएका युआन सीपीसीका २४ जना केन्द्रिय पोलिटब्यूरो सदस्य मध्ये एक सदस्य हुनुहुन्छ । ७ जनाको स्थायी कमिटीपछि दोस्रो तहको शक्तिशाली तहको रुपमा केन्द्रिय पोलिटब्यूरोलाई लिइन्छ । सीपीसीको सन् २०२२ मा भएको २० औ जनकंग्रेसले उहाँलाई सदस्यको जिम्मेवारी दिएको थियो । यसअघि उहाँ सीपीसीका केन्द्रीय सदस्य मात्र हुनुहुन्थ्यो । उहाँ राष्ट्रपति सी चिनफिङका विश्वाससिला पात्र मानिनुहुन्छ ।

किन आए नेपाल ?
श्रीलंकाको भ्रमण पूरा गरी युआन आइतबार काठमाडा आइपुग्नुभएको हो । उहाँले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलगायत धेरै श्रीलंकाली नेताहरूसँग भेट गर्नुभएको थियो । माओवादीको निमन्त्रणामा युआन नेपाल आएको भनेपछि बिआरआई कार्यान्वयन गरेको मुलुक श्रीलंकाबाट फर्किएका युआनले बिरआईबारे राजनीतिक दल र सरकारको धारणा बुझ्न भ्रमण केन्द्रित हुनेछ ।

नेपालमा राष्ट्रपति सीले अघि सारेको बीआरआईलाई अघि बढाउन जोड दिँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बर २३ देखि २६ सम्मका लागि तय भएको छ ।

युआनसँगै पछिल्लो समय नेपालमा चिनियाँ भ्रमण बाक्लिएको छ । यस अघि वेइजिङबाट असार २७ मा सीपीसीको विदेश विभागको टोली नेपाल भ्रमणमा आएको थियो । सीपीसी विदेश विभागका काउन्सिलर तु स्याउलिनको नेतृत्वमा एक टोली आएको थियो । उक्त टोलीले पनि भ्रमणका क्रममा बिआरआईबारे चासो राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *