राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै
७ साउन २०८० काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
नेपाल राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले मौद्रिक नीति पारित गरेको छ। समितिबाट पारित मौद्रिक नीति दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने कार्यतालिका छ।
आयात निरुत्साहित गरेर, कर्जा विस्तार रोकेर र कर्जा असुलीमा आक्रामक हुँदा प्रणालीमा तरलता सहज भएको यथार्थलाई मनन गर्दै राष्ट्र बैंकले अर्थतन्त्र चलायमान पनि हुने र उत्पादन बढ्ने क्षेत्रमा कर्जा लगानी बढाउन लचिलो नीति लिने जनाइएको छ। चालू वर्षमा निजी क्षेत्रमा जाने कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राख्ने बुझिएको छ ।
गत वर्ष १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेपनि ब्याजदर वृद्धि र अर्थतन्त्रमा आएको शिथिलताका कारण ४ प्रतिशतमा मात्र सिमित रह्यो । निजी क्षेत्रले शेयर बजार र घर जग्गाको जोखिमभार कम हुनुपर्ने, पुनर्कर्जा र कर्जा पुर्नसंरचना हुनु पर्ने, कर्जा निक्षेप अनुपात घटाएर कर्जा लगानी बढ्नु पर्ने, नीतिगत दर घटाउनु पर्ने जस्ता माग गरेका छन् ।
अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री प्रकाशशरण महतले पनि लचिलो नीति लिनुपर्ने धारणा राख्दै आउनुभएको छ ।
प्रतिक्रिया