राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाको प्रशंसा गर्ने होडबाजी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ६ गते २०:४०
कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाको प्रशंसा गर्ने होडबाजी (भिडियो रिपोर्टसहित)

६ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवाको प्रशंसा गर्ने प्रतिस्पर्धा नै चल्यो ।

४ दिनसम्म चलेको बैठकमा बोल्ने देउवा समूहभित्र अधिकांश केन्द्रीय सदस्य चर्को स्वरमा महामन्त्रीको आलोचना गर्ने र सभापतिको बचाउ गर्ने प्रतिस्पर्धामा को भन्दा को कम शैलीमा देखिए ।

सीता गुरुङ र इश्वरी न्यौपाने सभापति शेरबहादुर देउवा गुटमा रहेर पटक पटक लाभ लिएका नेतृ हुन् । न्यौपाने पार्टीको सचेतक नै बन्नुभयो भने गुरुङ पटक पटक सांसद र मन्त्री । पार्टीभित्र गठबन्धनको विरोधको आवाज आउँदा उनीहरु सभापति देउवाको बचाउमा गठबन्धनको पक्षमा खुलेर उभिन्छन् ।

न्यौपाने र गुरुङ त प्रतिनिधि पात्र मात्र हुन् । देउवासँगको निकटताकै बलमा पटक पटक लाभ लिइरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई त पार्टी विधानमा चलेन भन्नु सभापति देउवाकै विरोधझैं लाग्छ ।

नेपाली कांग्रेसको साउन २ गते शुरु बैठकमा १ सय १४ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा बोलेका केन्द्रीय सदस्यहरु बैठकमा तय गरिएको एजेण्डा भन्दा सभापति देउवाकै प्रशंशा र देउवाका आलोचकमाथिको प्रहारमा केन्द्रित छन् ।

उसो त नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणको निलम्बनको कुरा त उनीहरुले फिटिक्कै रुचाएका छैनन् ।
यसै पनि केन्द्रीय समितिमा बहुमतमा रहेका देउवा अहिले आफैसँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला पक्षको समेत साथ पाएपछि हौसिनु भएको छ ।

यही बुझेका देउवा पक्षका केन्द्रीय सदस्यहरु देउवामाथि प्रश्न गरिररहेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई प्रश्न तेर्साएर देउवा रिझाउन बल गरिरहेका छन् । नेपाली कांग्रेसमा पछिल्लो समय काम गर्ने भन्दा पनि नेताको विश्वापात्रहरुले अवसर पाइरहेका छन् । सोही कारण पनि सभापति खुशी बनाउनकै लागि केन्द्रीय समितिमा प्रसंशांको लहर चलाइएको छ ।

१४औं महाधिवेशनपछि देउवा दोस्रो कार्यकालका लागि सभापति बन्नुभयो । महाधिवेशन देखि संसदीय दलको चुनावसम्म आउँदा देउवाको शक्ति बढोत्तरी भएको छ । यो बुझेका केन्द्रीय सदस्यहरु देउवा खुशी पार्ने दौडमा देखिँदा कांग्रेस केन्द्रीय समिति बैठक एजेण्डा केन्द्रित भन्दा व्यक्ति केन्द्रित हुन पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्