राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक गुटगत उल्झनमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ५ गते २०:५१
कांग्रेस केन्द्रीय समिति बैठक गुटगत उल्झनमा (भिडियो रिपोर्टसहित)

५ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गुटगत स्वार्थमा रुमलिएको छ। आज बैठकको चौथो दिनसम्म धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले इतरपक्षमाथि निशाना साँध्ने र आफ्नो पक्षको बचाउमा समय खर्चिरहेका छन्। आरोप–प्रत्यारोप चल्दा बैठक एजेण्डामा केन्द्रित हुन सकेको छैन।

साउन २ गतेबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा छलफलका लागि १० एजेन्डा तय गरिएका छन्। तर, अधिकांश केन्द्रीय सदस्यले एजेन्डा केन्द्रित धारणा राखेका छैनन्। अधिकांशको जोड आफ्नो गुटको कुरा राख्ने र इतर समूहको बद्नाम गर्नेमा छ। निर्वाचन समिक्षा, नीति अधिवेशन, विभाग गठन, राष्ट्रव्यापी अभियानदेखि सरकारको समीक्षासम्मका एजेण्डा समेटिएपनि वस्तुनिष्ठ धारणा राख्नेभन्दा गुटगत स्वार्थको अभिव्यक्ति केन्द्रीय सदस्यहरुले समय खर्चिरहेका छन्।

उसो त सभापति शेरबहादुर देउवा समर्थकको बाहुल्य रहेको केन्द्रीय समितिमा अधिकले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न उठाएका छन्। महामन्त्री थापाले बैठकमा पेश गरेको वार्षिक कार्यक्रमलाई आरजु राणाले एनजीओको ‘विसलिस्ट’ जस्तो भएको टिप्पणी गर्दा ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय दलको नेता फेर्न प्रयास गर्ने थापाको अभिव्यक्तिमाथि प्रहार गरे।

बिहीबारको बैठकमा सभापति निकट नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका बालकृष्ण खाँणको पक्षमा उभिएका थिए भने इतर पक्षका नेता विपक्षमा। संस्थापन पक्षले कांग्रेस पहिलो पार्टी बनेको, सरकारमा पनि रहेको र राष्ट्रपति लिएको विषयमा देउवालाई जस दिइरहँदा इतर पक्ष भने पार्टी विधान विपरित चलेको, सरकारमा भएपनि काम गर्न नसकेको भन्दै देउवाको आलोचना गरिरहेका छन्।

केन्द्रीय समिति बैठक सभापति र महामन्त्रीको विरोधमा कित्ताकाट भएपछि केहीले भने दुबै समूहबाट आएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। तर, त्यो संख्या निर्णायक छैन। सभापति वा महामन्त्रीलाई खुइल्याएर पार्टी बलियो नहुने उनीहरुको भनाइ छ।

पछिल्लो निर्वाचनमा कांग्रेसको समानुपातिकतर्फ ७ प्रतिशत मत घट्यो। बैकल्पिक लोकतान्त्रिक दलका रुपमा नयाँ पार्टीको उदयले कांग्रेसमा परकम्प गएको छ। पार्टी विधानअनुसार नचल्दा, विचार समयसापेक्ष नहुँदा र अस्वस्थ गुटगत प्रतिस्पर्धाले कांग्रेसप्रति आकर्षण घट्दो छ। यि विषयमा गम्भीर बहस हुनुपर्ने बैठक आरोप–प्रत्यारोपमै केन्द्रित हुँदा कांग्रेसको यो बैठकले नेता–कार्यकर्तामा उत्साहको सञ्चार गर्ने संभावना कम रहेको नेताहरु नै बताउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्