Main News

सुन तस्करीको जरासम्मै पुग्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

हिमालय टिभी
२०८० साउन ५ गते १३:३१
सुन तस्करीको जरासम्मै पुग्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

५ साउन २०८० काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने बताउनुभएको छ ।

गृहमन्त्री श्रेष्ठले तस्करीमा जस्तोसुकै र जोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचारको जरो उच्च राजनीतिक तहसम्म रहेको भन्ने चर्चा भइरहेका बेला गृहमन्त्री श्रेष्ठले जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि यो विषयमा कुराकानी भएको जानकारी दिनुभयो । यसबारे अहिले छानबिन भइरहेको भन्दै उहाँले राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने दाबी गर्नुभयो । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले यस प्रकरणमा हिजो साँझसम्म थप चार जनालाई पक्राउ गरेको हो ।

यससँगै चिनियाँ र भारतीय नागरिकसहित पक्राउ पर्नेको संख्या १० पुगेको छ । काठमाडौंका छुट्टाछुट्टै स्थानबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ। यसअघि पक्राउ परेकामध्ये ६ जनाविरुद्ध अदालतबाट १० दिनको म्याद थप भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *