Main News

कोशी प्रदेशमा दुर्घटनामा कमी

२०८० साउन ४ गते ८:४७
कोशी प्रदेशमा दुर्घटनामा कमी

४ साउन २०८० झापा । कोशी प्रदेशमा विगत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारीसाधन दुर्घटनामा कमी आएको छ । सवारीसाधन दुर्घटनाबाट हुने मानवीय क्षति पनि कम भएको पाइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार आव २०७९/८० मा तीन हजार पाँच सय १० सवारीसाधन दुर्घटना हुँदा चार सय १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी आठ सय १० जना गम्भीर तथा चार हजार सात सय ९७ जना सामान्य घाइते भएका थिए ।

आव २०७८/७९ मा प्रदेशमा तीन हजार आठ सय २० सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनाबाट पाँच सय ३१ जनाको मृत्यु, एक हजार दुई सय तीन जना गम्भीर घाइते र पाँच हजार चार सय ४५ जना सामान्य घाइते भएका दाहालले बताउनुभयो । ट्राफिक सचेतना कार्यक्रम र प्रहरी कारबाहीको प्रभावकारिताका कारण सवारी दुर्घटना तथा मानवीय क्षति कम भएको उहाँको भनाइ छ ।

आव २०७९/८० मा अघिल्लो आवको तुलनामा सवारीसाधन दुर्घटना आठ प्रतिशत कम, मानवीय क्षति २२ प्रतिशत कम, गम्भीर घाइते ३३ प्रतिशत कम तथा सामान्य घाइते १२ प्रतिशत कम भएको तथ्याङ्क छ । आव २०७९/८० मा उक्त अवधिमा आठ हजार तीन सय ६३ जनालाई मादक पदार्थ सेवन कारबाही, २६ हजार छ सय ६४ जनालाई सवारी शिक्षा र तीन लाख एक हजार आठ सय ७१ जनालाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

आव २०७८/७९ मा पाँच हजार एक सय पाँच जनालाई मापसे कारबाही, १९ हजार आठ सय ३३ जनालाई सवारी शिक्षा र दुई लाख ६९ हजार आठ सय २३ जनलाई सवारी नियम उल्लङ्घन गरेकामा जरिवाना गरिएको थियो ।

सवारी नियम उल्लङ्घन गर्नेलाई जरिवाना गर्दा राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ । आव २०७९/८० मा रु २० करोड सात लाख ३५ हजार राजस्व सङ्कलन भएको छ भने आव २०७८/७९ मा रु १८ करोड एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *