राजनीति

कांग्रेस : महामन्त्रीको वार्षिक कार्यक्रम प्रस्तावमा केन्द्रीय सदस्यको बुझेन चित्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन ३ गते २१:३३
कांग्रेस : महामन्त्रीको वार्षिक कार्यक्रम प्रस्तावमा केन्द्रीय सदस्यको बुझेन चित्त (भिडियो रिपोर्टसहित)

३ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको वार्षिक क्यालेन्डरमा सभापति शेरबहादुर देउवा कतिको सकारात्मक हुनुहोला ? शंका सुरु भएको छ ।

सभापति देउवाले आफ्नो दोस्रो कार्यकालको २० महिनामा गर्दै नगरेका काम क्यालेण्डर मार्फत गर्न महामन्त्री थापाले प्रस्ताव गर्नुभएको छ । बहुमत साथमा राखेका देउवाले यो प्रस्ताव पास गर्न दिइहाल्ने कांग्रेस नेताहरुमै विश्वास छैन । महामन्त्रीको प्रस्तावका केही बुँदामा प्रदेश सभापतिहरुले असहमति जनाएका छन् ।

महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकको पहिलो दिन पार्टी सञ्चालनका लागि क्यालेण्डरसहितको २१ बुँदे प्रस्ताव पेस गर्नुभयो । यो प्रस्ताव पारित गर्न सभापति देउवा कतिको तयार हुनुहोला ? २० महिनाको अवधिमा केन्द्रीय समितिलाई समेत पूर्णता नदिएका देउवाले क्यालेण्डरका आधारमा पार्टी सञ्चालन गर्नुहोला ? बहुमत सदस्य रहेका देउवाले केन्द्रीय समितिबाट प्रस्ताव पारित गर्न दिनुहोला कि नहोला ?

बुधबारबाट सुरुभएको छलफलको पहिलो चरणमै प्रदेश सभापतिहरुले क्यालेण्डरमा प्रदेश समितिलाई भूमिका विहिन बनाउन खोजेकोभन्दै असन्तुष्टि पोखे । केन्द्रले जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने आशय प्रस्तावमा रहेको छ । यसैमा प्रदेश सभापतिहरुको असन्तुष्टि हो ।

प्रदेश सभापति मात्र होइन, केन्द्रीय सभापति देउवाले प्रस्ताव पारित गर्दै कार्यान्वयनमा लैजाने कतिपय कांग्रेस नेताहरुले नै पत्याएका छैनन् । विधानमै रहेको व्यवस्था त नमान्ने देउवाले क्यालेण्डर कसरी पारित गराएर कार्यान्वयनमा लैजानु होला ?

पारित भएर कार्यान्वयनमा जाला महामन्त्री गगन थापाको प्रस्ताव ?
–दुई–दुई महिनामा केन्द्रीय समिति बैठक राख्नुपर्ने प्रस्ताव
सभापति देउवाले एक वर्षपछिमात्र केन्द्रीय समिति बैठक राखेको दृष्टान्त
–भदौ १५ गतेसम्म सबै विभाग गठन र पूर्णता दिनुपर्ने प्रस्ताव
नेतृत्वको २० महिनामा पनि विभाग गठन गर्न चासो नदिएको दृष्टान्त
–भदौ १५ गतेभित्र समय सकिएका ६ भातृसंस्थाको तदर्थ समिति गठन गर्ने
नेतृत्व छानेर समिति विस्तारमा उदासिन
–क्रियाशिल सदस्यता वर्षभरि बाँड्ने र सदस्यता वितरण अनलाइनमार्फत गर्ने
अधिवेशनको मुखमा सदस्यता बाँड्ने चलन
–पार्टी संरचनालाई सक्रिय बनाउन क्यालेण्डरका आधारमा कार्यक्रम तय
चुनावी कार्यक्रम बाहेकका न्यून कार्यक्रम हुने गरेको

कांग्रेसको विधानले नै केन्द्रीय समिति बैठक बोलाउन समय तोकिदिएको छ । दुई–दुई महिनामा बैठक बोलाउनै पर्छ । विभाग पनि ६ महिनाभित्र गठन गरिसक्नुपर्ने प्रावधान छ । भातृसंस्थाको हकमा पनि विधानले स्पष्ट पारेको छ । तर, सभापति देउवाले यी कुनै पनि काम विधानतः गर्नुभएको छैन । देउवाविरुद्ध आक्रामक देखिएका महामन्त्री थापाले ल्याएको वार्षिक क्यालेण्डर मान्न देउवा तयार भइहाल्ने अवस्था नरहेको बताएका छन् ।

कांग्रेसमा वार्षिक क्यालेन्डरमाथि यसरी बैठकमै एजेण्डा पेश हुँदा केही उत्साही छन्। सभापति देउवाले महामन्त्री थापाको प्रस्तावमा सहजै सहमति जनाउनेमा शंका छ । प्रस्ताव पारित नै भएपनि कार्यान्वयनमा पुरानै प्रवृत्ति हावी नहोला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्