कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
२ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
विधानअनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्नुपर्छ । तर बैठक एक वर्षपछि बस्न लागेको हो । पार्टीले बैठकका लागि दश वटा एजेण्डा तय गरेको छ ।
हिजो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले बैठकका लागि दश वटा एजेण्डा तय गरेको हो । पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयमा छलफल हुनेछ ।
त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनेछ । कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने जनाइएको छ ।
पार्टीले प्रतिनिधिसभामा खेलेको भूमिका सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउनु हुनेछ । उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधि सम्बन्धमा बैठकलाई जानकारी गराउने कार्यसूची तय भएको छ।
केन्द्रीय समिति बैठकले नीति महाधिवेशनको मिति तोक्ने सम्भावना छ । बैठकको प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा पनि छलफल भइरहेको छ। गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो ।
प्रतिक्रिया