राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक : झारा टारेर सकिने पो हो कि ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन १ गते २१:०५
कांग्रेस केन्द्रीय समिति बैठक : झारा टारेर सकिने पो हो कि ? (भिडियो रिपोर्टसहित)

१ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दोस्रो कार्यकालमा पनि विधान र पद्धति अबलम्बन गर्न सक्नुभएको छैन ।

पार्टीको संरचनालाई नै पूर्णता दिन नसक्ने देउवाको नेतृत्वलाई लिएर पार्टीभित्र आलोचना हुने गरेको छ । बल्लबल्ल एक वर्षपछि मात्र केन्द्रीय समिति बोलाएका देउवाले एजेण्डामा त कहिले पनि छलफल नै गर्नुहुन्न ।

१३औँ महाधिवेशनमा सभपति बनेका देउवा पुनः १४औँ महाधिवेशनमा पनि निर्वाचित हुनुभयो । तर, उहाँले आफैंले उठाएका मुद्दा कार्यान्वनयमा कहिले अग्रसरता देखाउनुभएन । उहाँले कोइरालाहरु पार्टी नेतृत्वमा रहँदा विभागको पूर्णतादेखि केन्द्रीय समितिको बैठक माग गर्नुहुन्थ्यो । तर, आफू नेतृत्वमा रहँदा आफैंले उठाएका मागमा आँखा चिम्लनुभएको छ ।

शेरबहादुर देउवाले नगरेका काम
अपूर्ण केन्द्रीय समिति, कोषाध्यक्ष खोइ ?

प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था छ तर, एकवर्षपछि बस्दै छ । आमनिर्वाचनको समीक्षा गर्न त परै जाओस, केन्द्रीय समिति बैठक माग गर्दापनि बोलाइएन । नक्क्ली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण जस्ता विषय उठेपनि त्यसबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समिति बैठक बोलाइएन ।

नत केन्द्रीय समितिले पूर्णता नै पाउन सकेको छ । ३३ जना केन्द्रीय सदस्य मनोनित हुनुपर्नेमा २३ जनामात्र भएका छन् । बाँकी १० जना अझै मनोनित गर्न बाँकी छ । डेढ वर्षमा महत्वपूर्ण पद मानिएको कोषाध्यक्ष मनोनित नै गर्न पनि सभापति असक्षम हुनुभएको छ । संस्थापनपक्षकै नेताहरु पनि पार्टी विधानअनुसार चल्न नसक्दा कांग्रेसमा समस्या देखिएको स्वीकार गर्छन् ।

महासमिति बैठक कि नीति महाधिवेशन ?
कांग्रेसको १४औं महाधिवेशनले नेता छान्यो, नीतिको विषयमा छलफल नै गरेन । बरु ६ महिनाभित्र नीति अधिवेशन गर्ने सहमति भयो । उसो त कांग्रेसमा नीतिबारे छलफल गर्ने महासमिति बैठकले हो । तर, अहिले प्रत्येक वर्ष हुनुपर्ने महासमिति बैठक टारेर विधानमा कतै व्यवस्था नभएको नीति महाधिवेशनको चर्चा कांग्रेसभित्र छ ।

भद्रगोल भातृ संस्था, बनेनन् विभाग
कांग्रेसका १३ भातृ सस्था र २८ शुभेच्छुक संस्था रहेपनि धेरै संस्था नाममात्रका छन् । लामो समय अध्यक्ष मात्र रहेको तरुण दल विधान विपरित ४ सय १ सदस्यीय बनाएर पूर्णता दिइएको छ । तर, नेविसंघ भने अझै अध्यक्षकै भरमा चलिरहेको छ । नेविसंघ पूर्णताको प्रयास भएको वर्ष दिन वितिसक्दा पनि विस्तारको मिति सरेको स-यै छ ।

कांग्रेस विधानले पार्टीका विभागहरु ६ महिनाभित्र गठन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । तर, वर्ष वितिसक्दा पनि कांग्रेसका २८ वटा विभागले पूर्णता पाएका छैनन् । केही दिन अघि मात्रै सूचना तथा प्रचार प्रसार विभाग भने विस्तार भएको छ । केन्द्रीय समिति बैठक पछि भातृ संस्था र विभागको अन्योल हट्नेमा कांग्रेस पदाधिकारी विश्वस्त देखिन्छन् ।

महाधिवेशनअघि पार्टीलाई विधानसम्मत अघि बढाउने पटक–पटक उद्घोष गरेर नेतृत्वमा आएकाहरु अहिले पदाधिकारीदेखि सदस्यसम्म छन् । तर, पार्टी विधानअनुसार गर्नुपर्ने काम टारेको टार्यै गर्दा पनि उनीहरु निरिह देखिएका छन् । मंगलबारबाट शुरु भएको बैठक पनि झारा टार्ने गरि मात्रै गर्ने प्रयास भइरहँदा बैठक औचित्यपूर्ण बन्ला वा सनातनी कर्ममै सिमित रहला रु चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्