Main News

सिसडोलबासी किन फेरि आन्दोलनमा ? (भिडियो रिपोर्टसहित)

२०८० साउन १ गते २१:०२
सिसडोलबासी किन फेरि आन्दोलनमा ? (भिडियो रिपोर्टसहित)

१ साउन २०८० काठमाडौं । सम्झौता गरेको एक वर्षसम्म कार्यान्वयन नभएपछि काठमाडौंको फोहोर बिर्सजन गरिँदै आएको कुँडुले–बञ्चरेडाँडाका स्थानीय आन्दोलित भएका छन् ।

फोहोर लिएर गएका गाडीलाई स्थानीयले काठमाडौं नै र्फिता पठाइदिएका छन् । उनीहरु बिगतमा सहमतिका नाममा आफूहरुलाई झुक्काइएको भन्दै यस पटक वारपार नभएसम्म आन्दोलन नरोक्ने मनस्थितिमा छन् ।

“कि हामीलाई मारिदे, कि बसाई सारिदे”, “फोहोर रहित मानव, मानव रहित फोहोर” यो नारा सहितको फेलेक्स राखिएको स्थान हो धादिङ्ग र नुवाकोटको सीमास्थल धुनीबेसी नगरपालिका वडा नं १ को ढाँडेबेसी बजार । गत वर्ष झण्डै एक महिना आन्दोलित बनेका यहाँका बासिन्दा यसपटक निर्णायक आन्दोलन गर्ने तयारीमा छन् ।

वर्षौँदेखि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने गरिएको सिसडोल भरिएपछि गत वर्षदेखि त्यसको दुई किलोमिटर परको बञ्चरेडाँडामा फाल्न थालिएको छ । तर सिसडोल र बञ्चरेडाँडा आसपासका स्थानीय फोहरको चर्को दुर्गन्ध सहेर सहमति कार्यान्वयनका लागि एक वर्षभन्दा लामो समय कुरे । सहमति कार्यान्वयन गर्नुपर्ने काठमाडौं महानगरले वास्तै गर्न छोडेपछि यहाँका बासिन्दा अब यत्तिकै पछि नहट्ने भन्दै फोहरका गाडीको बाटो छेकेर बसेका छन् ।

गत वर्षको जेठ २६ गते राति सहरी विकास मन्त्रालयको रोहबरमा काठमाडौं महानगरसँग भएको १८ बुँदे सहमतिमा फोहर व्यवस्थापनलाई चुस्त बनाउनेदेखि त्यसअघि पटकपटक भएका सहमति कार्यान्वयन गर्नेलगायतका बुँदा उल्लेख थिए ।

फोहोरका कारण खाना खाने अवस्था नरहेको, क्यान्सर लगायता रोगले सताएको, कृषि उत्पादन र बस्तु भाउमा समेत असर पुगेको स्थानीयको भनाइ छ ।

बिगतमा यहाँका बासिन्दालाई सडक, शिक्षा, स्वास्थ्य जस्ता विकासका पूर्वाधारको प्रलोभन दिने गरिएको थियो । तर त्यही सडक फोहरको लिच्चडले भरिने र अरु पूर्वाधारहरु झिँगाको घर मात्रै बन्ने भएपछि स्थानीय थप आक्रोशित देखिन्छन् ।

बन्चरे डाँडा वरपर पनि फोहोरको डुंगुरले बस्न नसक्ने अवस्था बनेको छ । फोहोर फाल्न सुरु गरिएको एक वर्षमै यहाँको अवस्था नाजुक छ । सहमतिका १८ बुँदामा लिच्चड पनि नखासालिने, दुर्गन्ध पनि हटाइने जस्ता कुरा उल्लेख थिए । तर वास्तविकता त्यस्तो भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *