Main News

भोलि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकले नीति महानिवेशनको मिति तय गर्ने

हिमालय टिभी
२०८० साउन १ गते १७:५२
भोलि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकले नीति महानिवेशनको मिति तय गर्ने

१ साउन २०८० काठमाडौं । नेपाली कांग्रेसको भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकले नीति महाधिवेशनको मिति तय गर्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले नीति महाधिवेशनको कार्यविधि, मिति र स्थान तोक्नका लागि केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा बनाउने निर्णय गरेको छ ।

त्यस्तै अनुशासन समितिलाई पूर्णता दिंदै हालसम्म गरेका कामको समीक्षा गर्ने एजेण्डा पनि केन्द्रीय समिति बैठकको हुनेभएको छ । पदाधिकारी बैठकले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायत समसायिक विषयमा केन्द्रीय समितिले धारणा बनाउने गरी छलफल चलाउने निश्कर्ष पनि निकालेको छ ।

यस्तै आजको पदाधिकारी बैठकमा उपसभापति समेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको काम कारवाहीबारे व्रिफिङ गर्नुभएको थियो । त्यस्तै संसदीय दलको काम कारवाहीबारे पनि छलफल भएको थियो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्नेबारे प्रस्ताव राख्नुभएको थियो । प्रस्तावमा नेताहरुको मत विभाजित बनेको थिए । केहीले प्रत्यक्ष प्रसारण राम्रो हुने तर्क दिएका थिए भने केहीले खुलेर छलफल गर्न असहज हुने तर्क गरेका थिए ।

प्रत्यक्ष प्रसारणबारे भोलि नै निर्णय हुनेभएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक एक वर्षपछि बस्न लागेको हो । गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक बसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *