Main News

बेवास्ता गरिएको चट्याङ, हरेक वर्ष ठूलो मानवीय क्षति (भिडियो रिपोर्टसहित)

२०८० साउन १ गते १७:००
बेवास्ता गरिएको चट्याङ, हरेक वर्ष ठूलो मानवीय क्षति (भिडियो रिपोर्टसहित)

१ साउन २०८० काठमाडौं । प्राकृतिक प्रकोप भन्ने बित्तिकै हामी भूकम्प, बाढी, पहिरो सम्झन्छौं । तर, तपाईँ हामीले नसोचेको प्राकृतिक प्रकोप चट्याङले पूर्‍याएको क्षति झनै डरलाग्दो छ ।

चट्याङका कारण पाँच वर्षमा साढे तीन सयभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १४ सय जना घाइते भएका छन् । सरकारी तथ्याङ्कमा नआएका थुप्रै घटना छन् ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार चट्याङमा परेर पाँच वर्षमा ३ सय १३ जनाको ज्यान गएको छ । र, १२ सय ८४ जना घाइते भएका छन् । यता, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो संख्या केही बढी छ । प्राधिकरणकाअनुसार २०७५ साउन १ देखि हालसम्म ३ सय ५४ जनाको ज्यान गएको छ । १३ सय ८१ जना घाइते भएका छन् ।

यो त, प्रहरी र प्राधिकरणमा अभिलेख भएको विवरण मात्रै हो । यसबाहेक पनि सरकारी तथ्यांकमा समेटिन नसकेकाको संख्या अधिक छ । चट्याङका कारण आर्थिक वर्ष २०७५–०७६ मा ७३ जनाको मृत्यृ भएको तथ्यांक छ भने ४ सय १० जना घाइते भए ।

२०७६–०७७ मा ९१ जनाको मृत्यु भएको छ भने ३ सय ५६ जना घाइते भएका थिए । २०७७–०७८ मा ६० जनाको मृत्यु भयो भने २ सय १० जना घाइते भएका छन् । यस्तै आर्थिक वर्ष २०७८–०७९ मा ७० जनाको मृत्यु भएको थियो भने १ सय ८१ जना घाइते भएका थिए । गत आर्थिक वर्ष २०७९–०८० मा ५८ जनाको मृत्यु भएको थियो भने २ सय २६ जना घाइते भएका छन् ।

कहालीलाग्दो यर्थात् त के भने भूकम्पपछि सबैभन्दा बढी मानवीय क्षति गर्ने प्राकृतिक प्रकोप नै चट्याङ रहेको तथ्याङ्कले देखाएको छ । पाँच वर्षको अवधिमा पहिरोमा परेर ६ सय ६३ जना, बाढीमा परेर ८९ जना घाइते भएका छन् । जब कि चट्याङबाट मात्रै १३ सय ८१ जना घाइते भएका छन् ।

पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा बढी चट्याङ पर्ने गरेको छ । तर, क्षती भने पहाडी भू–भागमा बढी हुने देखिएको छ । प्रदेशगत हेर्दा सबैभन्दा बढी मानवीय क्षति कोशी प्रदेशमा भएको छ ।

पाँच वर्षमा कोशीमा चट्याङका कारण ७९ जनाको मृत्यु भएको छ । यस्तै लुम्बिनी प्रदेशमा ६८ जना, मधेस प्रदेशमा ६४ जना, बागमतीमा ४७ जना, सुदूरपश्चिममा ४२ जना, गण्डकीमा ३० जना र कर्णालीमा २४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *