Main News

नगरपालिकाद्वारा लोकसेवा तयारी कक्षाको नाममा ३१ लाख अनियमितता (भिडियो रिपोर्टसहित)

२०८० असार ३१ गते १७:११
नगरपालिकाद्वारा लोकसेवा तयारी कक्षाको नाममा ३१ लाख अनियमितता (भिडियो रिपोर्टसहित)

३१ असार २०८० सिरहा । स्थानीय तहले हरेक आर्थिक वर्षमा स्थानीयलाई विभिन्न सिप विकास तालिम दिने भनेर बजेट छुट्याउने गरेको छ ।

त्यसरी छुट्याएको बजेट अनुसार तालिम सञ्चालन नहुने होइन । तर, कागजमा एउटा र व्यवहारमा भने फरक हुने गरेको छ । सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय ३१ विद्यार्थीलाई लोक सेवा तालिम कक्षा सञ्चालन गरेको थियो । तर बजेट लाखौँ सकाएको बिल देखाउँदा विद्यार्थी भने ५० जना मात्रै सहभागी भएको पाइएको छ ।

सिरहाको धनगढीमाई नगरपालिकाले चालु आर्थिक वर्ष लोकसेवा तयारी कक्षाका लागि सञ्चालन गरेको तालिममा व्यापक अनियमितता गरेकोे खुलेको छ । नगरपालिकाले नायब सुब्बा र खरिदारका लागि लोक सेवा तयारी कक्षा तालिम सञ्चालन गरेको हो ।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिकै मिलोमतोमा लोकसेवा तयारी कक्षा सञ्चालन लगायतका अन्य कार्यक्रममा पनि अनियमितता भएको आशंका गरिएको छ । श्री गौरीभक्त होटल म्यानेजमेन्ट एण्ड टेक्नोलोजी ट्रेडिङ प्रालि मोरङसँग नगरपालिकाले नायवसुब्बा र खरिदार तहको तयारी कक्षाको लागि भ्याटबाहेक १४ लाख ५२ हजारका दरले २९ लाख ४ हजारमा सम्झौता गरेको थियो ।

सम्झौता बमोजिम खरिदारमा ६६ र नायवसुब्बामा ६५ जनासहित १ सय ३१ जना विद्यार्थी सहभागी रहेको नगरपालिकाको अभिलेखमा उल्लेख छ । तर, विद्यार्थीको सहभागिता भने ५० भन्दा कम रहेको पाइएको छ । विद्यार्थीले पाउनुपर्ने सामग्री समेत पाएनन् ।

नगरपालिकाले नायवसुब्बा र खरिदारका लागि छुट्टाछुट्टै सम्झौता र बजेटिङ्ग गरेको छ । एउटै कक्षा कोठामा एकै समयमा राखेर पढाउनुले पनि कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा अनियमितता भएको पुष्टि हुन्छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले पनि एकै समयमा एउटै कोठामा राखेर पढाएको स्वीकार गर्नुभयो । तर, अनियमितता भएको बारे भने कुनै जवाफ दिनुभएन ।

नगरपालिकाले हलभाडा ९० हजार देखाए पनि २० हजारमात्र तिरेको छ । बुद्ध महिला सहकारी संस्थाको सभाहलमा प्रशिक्षण चलाएको थियो । यो कार्यक्रम विशेष गरे लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसादको सेटिङमा भएको आरोप लगाइएको छ ।

कार्यक्रमका बीच अधिकृतको सक्रियताले पनि यसप्रति संकेत गरेको सहभागीको भनाइ छ । स्थानीय युवाले अन्य कार्यक्रम सकिएको महिनौंसम्म चेक नकाट्ने लेखाअधिकृतले यस कार्यक्रम सकेको हप्तादिन नबित्दै भुक्तानी दिनुले पनि सेटिङको आशंका उब्जिएको हो ।

तर, आरोप लगाइएका लेखा अधिकृत भने आफुले कुनै गल्ती नगरेको दावी गर्दै आएका छन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७९र०८० मा लोकसेवा तयारी कक्षा संचालन गर्न नगरसभाबाट ३३ लाख ८४ हजार रकम विनियोजन गरेको थियो । सेवाप्रदायक संस्थाले ३१ लाख २४ हजार ७०४ रुपैयाँ भुक्तानी पाएको छ ।

कार्यक्रमका लागि पाँचवटा संस्थासँगको प्रतिस्पर्धामा सबैभन्दा कममा यो संस्थाले कार्यक्रम स्वीकार गरेको भने पनि अन्य संस्थाले पेस गरेको प्रस्तावित योजना विवरण भने कार्यालयले देखाउन मानेको छैन । यस विषयमा अख्तियारमा उजुरी दिने विद्यार्थीले तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *