Main News

जयनगरदेखि महोत्तरीको विजलपुरासम्म रेल चल्ने

हिमालय टिभी
२०८० असार ३१ गते ९:२०
जयनगरदेखि महोत्तरीको विजलपुरासम्म रेल चल्ने

३१ असार २०८० काठमाडौं । आजदेखि भारतको जयनगरबाट महोत्तरीको विजलपुरासम्म रेल सेवा चल्ने भएको छ ।

जयनगरबाट धनुषाको कुर्थासम्म २०७८ चैत २० गतेदेखि रेल सञ्चालन हुँदै आएको छ। अब यो विस्तार गर्दै बिजलपुरासम्म ल्याउन लागिएको हो । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै विजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो ।

हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिनेछ । ब्रोडगेज दुईसेट रेल २०७८ साल चैत १९ गते देखि संचालनमा आएको थियो । शुरुमा एकपटक जनकपुरदेखि जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मंसिरदेखि दुवै रेल दिनको दुईपटक आउने र जाने गरी सेवा दिइरहेको छ ।

भोलिदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । भंगहा स्टेशनमा भने दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने छ।

कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ ।

मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चलाउने तयारी रहेको छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *