राजनीति

कांग्रेसमा नीति महाधिवेशन बहस : बनेको छैन नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार ३० गते २१:०९
कांग्रेसमा नीति महाधिवेशन बहस : बनेको छैन नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान (भिडियो रिपोर्टसहित)

३० असार २०८० काठमाडौं । असोजको पहिलो साता नीति महाधिवेशन गर्ने तयारीमा जुटेको भनिएको नेपाली कांग्रेस अलमलिएको छ ।

साउन २ गते बस्ने केन्द्रीय समितिले नीति महाधिवेशनको एजेण्डा तय गर्ने भनिएपनि सहभागी प्रतिनिधिबारे प्रष्ट भएको छैन । नीतिमै बहस गर्नका लागि बनाइएको स्थायी संरचना नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलेसम्म पूर्णता पाएको छैन ।

नेपाली कांग्रेसको २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनले नेतृत्व मात्र चयन गर्यो । नीतिबारे बहस गर्नका लागि ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने म्याण्डेड दिइएको थियो । तर, १९ महिना हुँदा बल्ल नीति महाधिवेशन गर्नेबारे कांग्रेसभित्र चर्चा सुरु भएको छ । विधि के हुने रु एजेण्डा र नीति बहसमा कांग्रेसले धारणा नै बनाउन सकेको छैन ।

विधिमा अलमल
कांग्रेसको नीति महाधिवेशन यो पहिलो हो । नयाँ अभ्यास भएकाले र विधानमा समेत नरहेको हुँदा प्रतिनिधि सहभागीमा अलमल रहेको छ । महाधिवेशन नै भनिएकाले महाधिवेशन प्रतिनिधि सहभागी गराउने वा नीतिबारे बहस गर्ने महासमिति सदस्य बोलाउने स्पष्ट छैन ।

नीति महाधिवेशनमा अबलम्बन गर्ने पद्धति, सहभागी संख्याबारे अन्योल छ । कतिपयले महाधिवेशन भएको वर्षबाहेक हरेक वर्ष बोलाउनुपर्ने महासमिति बैठकलाई नै नीति महाधिवेशनका रुपमा परिवर्तन गर्नुपर्ने कतिपयको मत छ ।

१४औँ महाधिवेशनमा ४३ सय प्रतिनिधि छानेको कांग्रेसले कतिपय जिल्लामा महासमिति सदस्य छान्नै सकेको छैन । कतिपयले केन्द्रीय महाधिवेशनकै प्रतिनिधि हुने बताउने गरेका छन् ।

एजेण्डा
कांग्रेसको हालै सम्पन्न सभापति भेलाले नीति महाधिवेशनका लागि तल्लो तहबाटै बहस र छलफल अघि बढाउनुपर्ने निश्कर्ष निकालेको थियो । अहिलेसम्म एजेण्डामा कांग्रेसले गृहकार्य गर्नै सकेको छैन । एजेण्डाका लागि जुट्नुपर्ने महामन्त्रीहरु यो बहस चलाउन उदासिन देखिएका छन् । साउन २ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा एजेण्डाबारे छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अपूर्ण
नीति महाधिवेशनका लागि बहस चलाउने कांग्रेसको स्थायी संयन्त्र नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पूर्णता पाएको छैन । गत असार १० गते मात्र सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई प्रमुख तोक्नुभएको छ । तर, ५१ सदस्यीय प्रतिष्ठानले सदस्य नै पाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्