Main News

धरासायी बन्दै राजर्षि जनक विश्वविद्यालय, १ वर्षदेखि उपकुलपतिविहीन (भिडियो रिपोर्टसहित)

२०८० असार ३० गते २१:०३
धरासायी बन्दै राजर्षि जनक विश्वविद्यालय, १ वर्षदेखि उपकुलपतिविहीन (भिडियो रिपोर्टसहित)

३० असार २०८० धनुषा । मधेस प्रदेशको जनकपुरमा ६ वर्षअघि स्थापना भएको राजर्षि जनक विश्वविद्यालयमा उपकुलपतिसहितका पदाधिकारी रिक्त भएको झन्डै एक वर्ष भइसकेको छ ।

तर नियुक्तिका लागि सरकारले चासो नलिँदा विश्वविद्यालयको प्रशासनिक मात्र नभई शैक्षिक गतिविधि पनि ठप्प छ । राजनीतिक भागबन्डा नमिल्दा र सरकारका अधिकारीहरूको स्वार्थ बाझिँदा विश्वविद्यालय नै धारासायी हुने अवस्थामा पुगेको छ ।

सरकारले २०७४ सालमा जनकपुरधाममा प्राचीन मिथिलाका राजा जनकको नाममा विश्वविद्यालयको स्थापना गर्‍यो । २०७४ साल असोज २६ मा तत्कालीन व्यवस्थापिका संसद्बाट विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएपछि मधेशमा पहिलो विश्वविद्यालय स्थापना गरियो । तर स्थापना कालदेखि अहिलेसम्म विश्वविद्यालय विवादरहित चल्न सकेको छैन । यो मातहत अहिले एउटै मात्र कलेज छ । विश्व विद्यालयमा उच्च पदाधिकारी उपकुलपति र रजिष्ट्रार पनि छैनन् । यतिसम्मकी क्याम्पस प्रमुख समेत छैनन् ।

संस्थापक उपकुलपति प्राध्यापक भरत झाले २०७८ पुष २६ गते अवकाश पाउनुभयो । क्याम्पसका प्राध्यापक शैलेन्द्र नारायण मल्लिकलाई उपकुलपतिको जिम्मेवारी सम्हालिरहँदा अदालतले कार्यसम्पादन नगर्न आदेश दियो ।

२०७८ फागुन १५ यता विश्वविद्यालय पदाधिकारी विहीन छ । क्याम्पस प्रमुख विनोदकुमार कर्णले जसोतसो चलाउँदै आउनुभएको थियो । तर, उहाँले पनि स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएर बस्नुभयो । विश्वविद्यालयको कन्तविजोगले प्राध्यापकहरू दुःखी छन् ।

विश्वविद्यालयको सह(कुलपति मुख्यमन्त्री सरोजकुमार यादव हुनुहुन्छ । तर, प्रदेश सरकारले अपनत्व नै ग्रहण गरेको छैन । शिक्षा मन्त्री समेत संघीय सरकारले समस्या समाधान गर्न भन्दा पनि उपकुलपतिको भागवण्डा गर्नमा ब्यस्त रहेको गुनासो गर्दै आउनुभएको छ ।

विद्यार्थीहरु आफ्नो भविष्य नै अनयोलमा परेको भन्दै आन्दोलन र प्रदर्शनमा ब्यस्त छन् ।

विश्वविद्यालयमा बीए(एलएलबी, बीबीए, बीसीए, बीएससीआईटी, बीएमएलटी, बीपीएच, एमबीएसहितका संकाय गरी अहिले पाँच सय ५० विद्यार्थी अध्ययनरत छन् । विवाद र समस्याका कारण यो विश्वविद्यालय स्थापनाको पाँच वर्षमै लडखडाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *