Main News

६ महिनामा पनि पाएन सुदूरपश्चिम मन्त्रिपरिषदले पूर्णता (भिडियो रिपोर्टसहित)

२०८० असार ३० गते १८:०२
६ महिनामा पनि पाएन सुदूरपश्चिम मन्त्रिपरिषदले पूर्णता (भिडियो रिपोर्टसहित)

३० असार २०८० कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएको ६ महिना भयो । तर, अझै पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । कमल शाह मुख्यमन्त्री भएदेखि कृषि मन्त्रालय खाली थियो ।

असार ५ मा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि दुई वटा मन्त्रालय खाली छ । दुई मन्त्रालय पाउनुपर्ने नागरिक उन्मुक्तिको अडान कायमै रहेकाले अझै केही समय प्रदेश सरकारले पूर्णता नपाउने भएको छ ।

माघ २७ गते कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । सत्ता गठबन्धन भएका कारण माओवादीले २, कांग्रेसले मुख्यमन्त्रीसहित २ र समाजवादीले एउटा मन्त्रालय लिए ।

गठबन्धनले एउटा मन्त्रालय मात्रै छुट्याएपछि रुष्ट भएको नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म मन्त्री पठाएको छैन । जसकारण भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छ । अझै पनि उन्मुक्तिले यही अडान लिइरहेको छ ।

तर असार ५ पछि भने कानून मन्त्रालय पनि खाली छ । सडक दुर्घटनामा परेर कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएपछि दुवै मन्त्रालय मुख्यमन्त्री मातहत छ ।

मन्त्री नहुँदा दुवै मन्त्रालयको कामकारवाहीमा असर परेको छ । यद्यपी अहिले नै स्वर्गीय सिंहको ठाउँमा कांग्रेसबाट अर्कोलाई मन्त्री बनाउने बारे छलफल नभएको मुख्यमन्त्रीको दावी छ । तर, कृषि मन्त्रालय खाली हुनुपछि उन्मुक्ति नै कारण भएको मुख्यमन्त्रीको भनाइ छ ।

यस अघि उन्मुक्तिले सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको थियो । अहिले सामाजिक विकास मन्त्रालय माओवादी केन्द्रले पाइसकेको छ ।

अहिले किसानलाई मल बीउको अभाव हुँदा विभागीय मन्त्री नहुँदा किसानहरूलाई समेत समस्या छ । तर राजनीतिक अडानका कारण मन्त्रालय नै कामविहीन बनाउनु जायज नभएको नागरिकको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *