Main News

खर्च कटौती मुख्य प्राथमिकता बताएको कोशी सरकारको तालिम भत्तामै अर्बौँ स्वाहा ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार २९ गते २१:१२
खर्च कटौती मुख्य प्राथमिकता बताएको कोशी सरकारको तालिम भत्तामै अर्बौँ स्वाहा ! (भिडियो रिपोर्टसहित)

२९ असार २०८० काठमाडौं । कोशी प्रदेशमा हिक्मत कार्की नेतृत्वमा आएसँगै अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गरेर सरकारलाई मितव्ययी बनाउने घोषणा गर्नु भएको थियो ।

तालिम, गोष्टी र भ्रमण भत्तामा कटौती गर्ने, नयाँ सवारी साधन तथा फर्निचर नकिन्ने भनिएको थियो । तर, प्रदेश लेखा नियन्त्रकको कार्यालयको तथ्यांकले सरकार आफ्नै निर्णय भुलेर अनावस्यक खर्च गर्न तल्लीन रहेको देखाएको छ ।

कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले बैठक, तालिम, भ्रमण, कार्यशाला गोष्टी जस्ता कार्यक्रमका लागि रकम कटौति गर्ने घोषणा गर्नुभएको थियो । मन्त्रालयको संख्यासमेत घटाएर १३ बाट नौमा झारिएको थियो । तर, खाता बन्द गर्ने बेलामा सरकार आफैंले त्यस्ता निर्णय पालना गरेको देखिएन ।

प्रदेश लेखा नियन्त्रकको कार्यालय अनुसार सरकारले तालिम, गोष्टी, भ्रमण लगायतका कार्यक्रममा दुई अर्व १६ करोडभन्दा बढी रकम खर्च गरेको छ । जसमा कर्मचारी तालिम शीर्षकमा मात्रै ३ करोड ९९ लाख ७६ हजार नौ सय २८ रुपैयाँ, कार्यक्रम खर्च शीर्षकमा एक अर्ब ८८ करोड १२ लाख २८ हजार रुपैयाँ खर्च गरेको छ । यस्तै कार्यक्रमसँग मिल्दोजुल्दो देखिने विविध कार्यक्रम शिर्षकमा पाँच करोड २० लाख ७० हजार रुपैयाँ थप खर्च गरेको छ ।

भ्रमणभत्ता कटौती गर्ने निर्णय गरेको सरकारले यसै शिर्षकमा १६ करोड ६६ लाख ६१ हजार रुपैयाँ खर्च गरेको छ । भ्रमण खर्च शीर्षकमा बिनियोनित बजेटबाट दुई करोड ७० लाख ८६ हजार रुपैयाँ, विशिष्ट व्यक्ति प्रतिनिधि मण्डलको भ्रमण खर्च शीर्षकमा थप ७१ लाख २४ हजार खर्च भएको छ । त्यस्तै भत्ता शीर्षकमा नै थप पाँच करोड ७४ लाख ९९ हजार रुपैयाँ वितरण गरेको देखिन्छ ।

स्थानीय भत्तामा एक करोड ८६ लाख ९५ हजार, मंहगी भत्तामा पाँच करोड ४१ लख ४३ हजार, कर्मचारी बैठक भत्तामा भने एक करोड ३८ लाख ३७ हजार रुपैयाँ खर्च भएको छ ।

यसबाहेक कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षकमा एक करोड ५५ लाख ७६ हजार, पदाधिकारी बैठक भत्तामा एक वर्षमा २८ लाख ७२ हजार रुपैयाँ वितरण भएको छ ।

पदाधिकारीको अन्य सुविधामा दुई करोड १६ लाख ७० हजार रुपैयाँ वितरण भएको छ । त्यसमध्ये पनि पदाधिकारी अन्य भत्ता शीर्षकमा थप ४१ लाख रुपैयाँ राज्य कोष बाट खर्च भएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा पाँच करोड ६७ लाख ६२ हजार सात सय १४ रुपैयाँको सवारी साधन किनेको छ । सवारी साधन मर्मतमा एघार करोड ८४ लाख २२ हजार खर्चिएको छ ।

पदाधिकारीलाई आवश्यक इन्धन तर्फ एक करोड ८० लाख ६९ हजार खर्च गरेको छ ।

त्यसैगरी कार्यालयको इन्धन प्रयोजनका लागि १२ करोड ८७ लाख ४१ हजार खर्च गरेको देखिन्छ भने इन्धनतर्फ अन्य प्रयोजन शीर्षकमा थप एक करोड २७ लाख ६५ हजार ९७२ रुपैयाँ सकिएको छ ।

चालु आर्थिक वर्षको एक वर्षमा कर्मचारीको पारिश्रमिकमा एक अर्ब ७४ करोड ६१ लख ४९ हजार रुपैयाँ, पदाधिकारीको पारिश्रमिकका लागि एघार करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ ।

मन्त्रालयका र कार्यालयका लागि आवश्यक फर्निचर खरिद नगर्ने निर्णयलाई लत्याउदै प्रदेश सरकारले पाँच करोड ८९ लाख २५ हजार नौ सय २२ रुपैयाँ बराबरको नयाँ फर्निचर खरिद गरेको छ ।

कार्कीको नेतृत्वको सरकारले अघिल्लो राजेन्द्र राई नेतृत्वको सरकारको पालामा रहेको १३ बाट मन्त्रालयको संख्या घटाएर नौ मा झारेको थियो । तर, जति नै ठूला कुरा गरेपनि कोशी प्रदेश सरकार देशको ढुकुटी रित्याउनमा उद्दत भएको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *