दलहरुबीचको मतभेदले मिटरब्याजसम्बन्धी विधेयक अलपत्र
२९ असार २०८० काठमाडौं । सत्तारुढ दलबीच नै मतभेद कायम रहेकाबेला मिटरब्याज पीडितको पक्षमा ल्याउन लागिएको विधेयक अलपत्र परेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा मिटरब्याज पीडितसम्बन्धी विधेयक पेश गर्ने सम्भावित कार्यसूचीमा राखिएको छैन । मिटरब्याज सम्बन्धी कानून बनाउन ल्याइएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० राष्ट्रियसभाबाट असार १५ गते नै पारित भइसकेको छ । तर, प्रतिनिधिसभामा भने यो विधेयक आज पनि पेश नहुने भएको हो ।
सत्तारुढ दल जनता समाजवादी पार्टी जसपाले मिटरब्याजीका पक्षमा केही बुँदा संशोधन गर्न खोजेपछि विवाद भएको हो । यसमा राजनीतिक सहमति खोज्नुपर्नेभन्दै जसपाले अडान राखेको छ ।
अध्यादेश पनि निष्क्रिय भएकाले विधेयक नल्याउँदा मिटरब्याजका पीडकले उन्मुक्ति पाउनेभन्दै आलोचना भइरहेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराइने, केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० पेश गर्ने र राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया