Main News

को हुन् सीता दाहाल ?: सम्झनामा सीता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार २७ गते १७:५३
को हुन् सीता दाहाल ?: सम्झनामा सीता (भिडियो रिपोर्टसहित)

२७ असार २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरियो ।

लामो समयदेखि बिरामी सीताको निधनसँगै प्रधानमन्त्री प्रचण्डको जीवनमा वियोगान्तक घटनाको पुनरावृत्ति भएको छ । प्रचण्डसँगै समग्र माओवादी पार्टीले एक अभिभावक गुमाएको छ ।

पुष्पकमल दाहाल प्रचण्डसँगको ५४ वर्षे यात्रा र उमेरको ६९ बसन्त पूरा गरेर बुधबार बिहान सीता दाहाल सँधैका लागि बिदा हुनुभएको छ । ६ वर्षअघि छोरा प्रकाश दाहाललाई गुमाएको काठमाडौं‌को थापाथलीस्थित नर्भिक अस्पतालमा सीताले अन्तिम सास लिँदा पति प्रचण्ड देशको प्रधानमन्त्री र दुई छोरी रेनु र गंगा प्रचण्डको महत्वपूर्ण पिल्लरका रुपमा छन्, तर भूमिगत जीवनदेखिकी बल र भरोसा सीताले छोड्दा प्रचण्ड सिलसिलेवार वियोगान्तको चोटमा हुनुहुन्छ ।

कास्की जिल्लाको हेम्जामा हरिकला पौडेल र महेश्वर पौडेलको सन्तानका रुपमा वि।सं। २०११ असार २१ गते जन्म जन्मिएकी सीता दाहालको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो ।

वि।सं। २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन विताउनुभएकी सीता माओवादी युद्ध सुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै सिंगो पार्टीको अभिभावकका रूपमा समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

सीता पार्टीको सल्लाहकार मात्र नभएर पार्टीमा अन्यायमा परेका कार्यकर्ताको संरक्षणमा पनि सक्रिय हुनुहुन्थ्यो । पछिल्लोसमय उहाँ पार्किन्सनजसहित दुर्लभ रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

सीताका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु र गंगा दाहाल राजनीतिमै सक्रिय हुनुहुन्छ ।

पार्टी कार्यालयमा बुधबार श्रद्धाञ्जली दिन उपस्थित भएकाहरुले सीताको दुःखद बिदाइमा सशस्त्र युद्ध, भूमिगत जीवन र प्रचण्डको संघर्षमा हरपलको साथ स्मरण गरे ।

नेपालको कम्युनिष्ट आन्दोलनमा अविस्मरणीय योगदान पुर्‍याउनुभएकी दाहाल सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समपर्णको चर्चा परिचर्चा हुने गरेको छ । दुई सन्तान र पतिलाई छोडेर दुई सन्तानकै समीपमा पुगेकी सीताप्रति भावपूर्ण श्रद्धाञ्जली ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *