Main News

प्रहरी जवानलाई नै हात खुट्टा बाँधेर यस्तो यातना (भिडियो रिपोर्टसहित)

२०८० असार २७ गते १७:४८
प्रहरी जवानलाई नै हात खुट्टा बाँधेर यस्तो यातना (भिडियो रिपोर्टसहित)

२७ असार २०८० सिरहा। यातना दिने कार्य फौजदारी अपराध हुनुका साथै गम्भीर प्रकारको मानव अधिकार उल्लंघन समेत हो ।

यस किसिमको हर्कत गर्ने जो कोही कानूनी कारवाहीमा पर्दछ । तर, कानून कार्यान्वयन गर्ने निकाय प्रहरी नै यसबाट अछुतो छैन ।

प्रहरी हिरासतमा यातना दिएको खबर बेलाबेला सार्वजनिक हुँदै आएका छन् । तर, बुधबार भने प्रहरी जवानलाई नै हात खुट्टा बाँधेर यातना दिइएको छ ।

यो दृष्य जिल्ला प्रहरी कार्यालय सिरहाको हो । र, उहाँ प्रहरी जवान अणु राय । उहाँको हात पछाडिबाट बाँधिएको छ । सादा पोशाकमा रहेका राय रोइरहेको यो दृष्य कहीँ नभएर प्रहरी कार्यालय सिरहाको हो । रायलाई एक प्रहरी अधिकारी के खाएको छस् रु भनेर प्रश्न गरिरहेको सुनिन्छ ।

र, राय केही खाएको छैन भनिरहनुभएको छ । यसरी यातना दिए म मर्छु भनिरहनुभएको छ ।

उहाँलाई यातना दिने अरु कोही नभई प्रहरी निरीक्षक हेमन्त राई हुन् । अणुले आफुलाई अधिक समय खटाएको गुनासो गरेकै कारण यातना दिएको आरोप रायका परिवारले लगाएका छन् । तर, सिराहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूले भने कुनै यातना नदिएको दावी गर्नुभएको छ । राय खासमा चालक हुनुहुन्छ । उहाँले लागू औषध खाएको आशंकामा नियन्त्रणमा लिएर हतकडी लगाएर सोधुपछ मात्र गरिएको लिम्बूको तर्क छ ।

निरन्तरको सोधुपछमा पनि रायले आफु निर्दोष रहेको दावी गरेपछि प्रहरीले स्वास्थ्य परीक्षण गरेको थियो । परीक्षणमा भने त्यस्तो केही नदेखिएपछि उहाँलाई अहिले छोडिएको छ । भिडियो सार्वजनिक भएपछि अहिले प्रदेश प्रहरी कार्यालयले छानविन सुरु गरेको छ ।

घटनाको तथ्य बुझ्न प्रदेश डीआइजी जनक भट्टराई पनि सिराहा पुग्नुभएको छ । आरोप लागेकालाई सोधपुछ गर्दा प्रहरीले यातना दिन मिल्दैन । त्यो कानूनको बर्खिलाप छ । तर, भिडियोमा आफ्नै कर्मचारीलाई यातना दिएर सोधपुछ गर्नुले प्रहरीले नागरिकलाई कस्तो व्यवहार गर्ला भन्ने प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *