Main News

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

२०८० असार २७ गते १७:१७
पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

२७ असार २०८० काठमाडौं । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ ।

मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भन्नुभएको थियो । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उहाँ दाहालले आज भौतिक संसार छाड्नुभएको छ ।

निको नहुने जटिल प्रकारको पार्किन्सन्स रोगबाट लामो समयदेखि पीडित हुनुभएका सीताको आज बिहान ८ः३३ बजे निधन भएको उहाँको उपचारमा संलग्न प्रा डा युवराज शर्माले जानकारी दिनुभएको थियो । खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन् ।

सञ्चारकर्मीसँगको एक भेटमा सीताले भन्नुभएको थियो, “पार्टीभित्र अन्तरसङ्घर्ष चल्दा प्रचण्डजीलाई उचाल्ने मान्छे पनि थिए, बाबुरामजीलाई उचाल्ने मान्छे पनि थिए । मैले दुवै नेतालाई खराब मान्छेहरूबाट टाढा बस्न सुझाव दिन्थे ।”

तत्कालीन नेकपा (माओवादी)भित्रका अन्तरविरोध समाधान गर्न उहाँले खेलेको भूमिका यही धारणाबाट पनि स्पष्ट हुन जान्छ । लामो समय डा भट्टराईको सचिवालयमा स्वकीय सचिवको भूमिकामा रहनुभएका विश्वदीप पाण्डेका अनुसार मुलुकमा भएको राजनीतिक परिवर्तनमा उहाँले खेलेको भूमिका महत्वपूर्ण छ ।

“यो परिवर्तनमा तपाईंको योगदान प्रत्यक्ष देख्नेले मात्रै थाहा पाएको छ । सधैँ पर्दा पछाडि रहेर आफ्नो भूमिका पूरा गर्नुभयो । तपाईंको महाप्रस्थानमा निकै दुःखी छु । तपाईंको अभाव महसुस भइरहनेछ”, सीता दाहालको सम्झनामा पाण्डेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “केही वर्षदेखि तपाईंलाई हेरेरै भए पनि कैयौँ संवेदनाहरु भुलाइरहनुभएका कमरेड प्रचण्डलाई तपाईंको सबैभन्दा बढी अभाव खड्किनेछ । हार्दिक श्रद्धाञ्जली कमरेड सीता दाहाल । खुसी प्रकट गर्ने र सबभन्दा ज्यादा दुःखका तापमा सुस्ताउने चौतारी गुमाउनुभएका कमरेड प्रचण्डलगायत परिवारजनप्रति हार्दिक समवेदना ।”

पार्टीभित्र कुनै पनि अप्रिय निर्णय नगर्न सीताले पार्टी अध्यक्ष प्रचण्डलाई धेरै सचेत गराउनुभयो । माओवादी जनयुद्धको समयमा उहाँले खास अर्थमा आमाकै भूमिका निभाएको स्मरण गर्नुहुन्छ, माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा । “हामी सबैको आमाकारुपमा उहाँले विशेष भूमिका निर्वाह गर्नुभएको थियो”, उहाँले भन्नुभयो ।

जनयुद्धको समयमा भारतमा माओवादीका नेता तथा कार्यकर्ता धमाधम पक्राउ पर्न थालेका थिए । नेताहरु मातृका यादव, सुरेश आलेमगरलगायतका नेता पक्राउ परेकै दिन अध्यक्ष प्रचण्डले उहाँहरुसँग भेटवार्ता गर्ने कार्यक्रम थियो । यदि त्यसदिन अध्यक्ष प्रचण्डलाई दिल्लीको मङ्गलपुरीमा तय भएको भेटका लागि सीताले जान नरोकेको भए पक्राउ पर्ने सम्भावना रहेको माओवादी केन्द्रका सचिव शर्मा स्मरण गर्नुहुन्छ ।

माओवादीका नेताहरुका अनुसार सीता प्रचण्ड पत्नी मात्रै नभई सहयात्री र राजनीतिक सहयोद्धासमेत हुनुहुन्थ्यो । माध्यामिक विद्यालयको शिक्षकको जागिर छाडेर राजनीतिमा होमिनुभएका पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने भूमिकामा सीताको महत्वपूर्ण योगदान रहेको बताउनेको सङ्ख्या ठूलो छ ।

प्रधानमन्त्री प्रचण्डको पारिवारिक जीवनमा पछिल्लो १० वर्षमा तेस्रो बज्रपात परेको छ । जेठी छोरी ज्ञानुको स्तन क्यान्सरबाट निधन भयो । छोरा प्रकाशको पनि छ वर्षपहिले निधन भयो । आज पत्नी सीताको पनि निधन भयो ।

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा जन्मनुभएकी सीता आठ वर्षको हुँदा पारिवारसँगै चितवन बसाइँ सर्नुभएको थियो । औपचारिक शिक्षा नलिए पनि समाज, राजनीति र देश बुझ्ने सवालमा उहाँ पढेलेखेका महिलाभन्दा कम हुनुहुन्नथ्यो ।

विसं २०२६ वैशाखमा प्रचण्ड र सीताको मागी विवाह भएको थियो । उहाँले २०२८ सालमा कम्युनिष्ट पार्टीको सदस्य लिनुभएको थियो । चार सन्तानकी आमा सीतालाई मसिना छोराछोरी र श्रीमान्को भूमिगत राजनीतिलाई सन्तुलन कायम गर्नु तत्कालीन अवस्थामा चूनौतीपूर्ण जिम्मेवारी थियो ।

माओवादीका नेता तथा कार्यकर्ता र शुभेच्छुकका अनुसार सीताले आमा, श्रीमती, राजनीतिक सल्लाहकार तथा कार्यकर्ताका रुपमा पु¥याएको योगदानमा कुनै प्रश्न उठाउने ठाउँ छैन । खासगरी अप्ठ्यारो अवस्थामा नआत्तिन र खुसीमा नमात्तिन श्रीमान् प्रचण्डलाई सल्लाह दिने सल्लाहकारको भूमिकामा रहनुभएका सीताले बनारसदेखि रोल्पाको थवाङसम्मको वस्तुस्थितिका बारेमा राम्रो ज्ञान थियो ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उहाँले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार हुनुहुन्थ्यो । सीता देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी हुनुभएको थियो ।

महासचिव गुरुङका अनुसार सीताले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पु-याउनुभएको छ । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पण दाहालका विशेषता रहेको गुरुङ स्मरण गर्नुहुन्छ । पार्टी पङ्क्तिले अभिभावकका रुपमा लिने सीता कुनै पनि सार्वजनिक विवादमा भने मुछिनु भएन ।

लेखक तथा कवि सुमिना सीतालाई प्रधानमन्त्री प्रचण्डको पत्नीका रुपमा मात्रै नभएर परिवर्तनको सानो हिस्सेदारीका रुपमा इतिहासले सधैँ स्मरण गर्नुपर्ने बताउनुहुन्छ । “पछिल्लो अवधि देशमा जे जति सामाजिक, राजनैतिक र सांस्कृतिक परिवर्तनहरू भए ती १० वर्षे जनयुद्धका उपलब्धि हुन् भन्ने सत्य ढाकेर नढाकिने सत्य हो । त्यो उपलब्धिमा सीता दाहालको भूमिका पनि सायद कतै भेटिन्छ कि ?”, उहाँले भन्नुभएको छ ।

माओवादीका नेताहरुका अनुसार २०६१ सालमा रोल्पाको फुन्टिवाङमा भएको बैठकपछि पार्टीभित्र चर्को विवाद भएको थियो । त्यसबेला सीता उपचारका क्रममा भारतमा हुनुहुन्थ्यो । पार्टीभित्र विवाद बढेको थाहा पाएपछि उहाँले रोल्पा पुगेर प्रचण्ड र बाबुराम दुवैलाई सम्झाउनुभएको थियो ।

“तपाईंहरु सानातिना विषयमा विवाद गरेर नबस्नुस्, तत्काल मिलाइहाल्नुस्”, सीताले भन्नुभएको थियो, “जनताको रगत बगिसकेको छ । तपाईंहरुको ताल के हो यस्तो ? यस्तै हो भने तपाईंहरुलाई जनताले छाड्दैनन् ।”

यस्तै, सल्लाहका कारण पार्टीभित्रका अनेकन सङ्कट समाधान भएको माओवादीका नेताहरुको भनाइ छ । प्रधानमन्त्री पत्नी भए पनि उहाँले बालुवाटारमा बसेर अनावश्यक चासो लिएको तथा विवादमा पर्नुभएको थिएन । कवि अर्जुन पराजुलीले सोही विषयलाई केन्द्रमा राखेर एउटा कविता लेख्नुभएको छ ।

श्रीमान् चलाइनौ तिमीले
छोराछोरी चलाइनौ
न आँखा चलायौ, न नाक चलायौ
न रवाफ न धाक चलायौ
न हात चलायौ तिमीले
न मुख चलायौ
बालुवाटारमा बसेर
न बालुवाटार चलायौ
कसैलाई नचलाईकन आज
तिमी आफैँ चल्यौ, सलाम छ तिमीलाई ।

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहने उहाँको स्वभाव थियो । माओवादीभित्र मात्रै नभई विसं २०७४ सालमा तत्कालीन नेकपा ( एमाले)सँग पार्टी एकता गर्दा पनि सीताले खुसी व्यक्त गर्दै कम्युनिष्ट जनमतलाई थप एकीकृत गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

जटिल प्रकारको पार्किन्सन्स रोगबाट पीडित सीताको उपचारका लागि अनेकन प्रयास गरिएको थियो । नेपाल, भारत र अमेरिकाका विभिन्न अस्पतालमा पनि उपचार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *