Main News

प्रधानमन्त्री पत्नी दाहालको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पेरिस डाँडामा

हिमालय टिभी
२०८० असार २७ गते १५:०९
प्रधानमन्त्री पत्नी दाहालको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पेरिस डाँडामा

२७ असार २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएपछि नेता–कार्यकर्ता, आफन्त र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पेरिस डाँडा पुगेका छन् ।

सीता दाहालको उपचारका क्रममा नर्भिक अस्पतालमा बिहान ८ बजेर ३३ मा निधन भएको हो । अवस्था गम्भीर बनेपछि ६९ वर्षिया सीतालाई बिहान ८ बजे अस्पताल लगिएको थियो। उहाँको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्येष्टी गरिनेछ ।

उहाँको निधनको खबरसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेता, सुरक्षा निकायका प्रमुखहरू,मन्त्रीहरु,दलका नेता कार्यकर्ता,शुभेच्छुकहरु समवेदना व्यक्त गर्न अस्पताल पुगेका थिए। सीता पार्किन्सनजस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपी नामक जटिल रोगबाट लामो समयदेखि ग्रसित हुनुहुन्थ्यो ।

यो रोग लागेका व्यक्तिलाई हिँडडुलमा समस्या पर्ने, बोल्न र निल्नसमेत कठिन हुने चिकित्सकहरुको भनाइ छ । उहाँमा रोगको संकेत पहिलेदेखि देखिए भए पनि छोरा प्रकाशको निधनपछि थप च्यापेको थियो । उहाँको उपचार अमेरिका, भारत, सिंगापुरलगायतका देशमा पनि गरिएको थियो । तर स्वास्थ्यमा सुधार भएन ।

२०११ असार २१ गते कास्कीको हेम्जामा जन्मनु भएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो । २०२८ सालदेखि कम्युनिस्ट आन्दोलनमा आवद्ध उहाँ माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।

पार्टी कामको सिलसिलामा पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता जनयुद्ध शुरु भएपछि प्रचण्डसँगै २०५२ सालदेखि भूमिगत हुनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *