Main News

भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

२०८० असार २६ गते १६:४८
भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

२६ असार २०८० रामपुर (पाल्पा) । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पार्नुभयो ।

ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने बताउनुहुँदै उहाँले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत् छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको उहाँको भनाइ थियो । सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्ने उहाँको भनाइ छ ।

भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै उहाँले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले वर्तमान सरकार पाँच वर्षसम्म बलियो भएर अघि बढ्ने समेत दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारलाई टिकाइराख्नका लागि गठबन्धन दलभित्र छलफल चलिरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *