Main News

सुदूरपश्चिम प्रदेश : बजेटमा यस्तो बखेडा (भिडियो रिपोर्टसहित)

२०८० असार २६ गते १६:४५
सुदूरपश्चिम प्रदेश : बजेटमा यस्तो बखेडा (भिडियो रिपोर्टसहित)

२६ असार २०८० कैलाली । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८०–०८१ का लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर सत्तारुढ दलभित्र देखिएको विवाद बढ्दै गएको छ ।

बजेट पारित गरिसक्नुपर्ने समय नजिकिँदा समेत प्रदेश सभामा बजेटमाथि छलफल सुरु हुन सकेको छैन । बजेट पारित गर्ने सम्बन्धमा पटक–पटक गठबन्धनका दलहरुको बैठक बसे पनि कुनै सहमति नहुँदा प्रदेशसभा बैठक नै अनिश्चित बनेको छ । आज फेरि बैठक बोलाइएको छ । तर सहमति जुट्नेमा शंका छ ।

असार १ गते बजेट प्रस्तुत गरेपछि सोमबार प्रदेश सभाको बैठक बसेको थियो । शोक प्रस्ताव पारित गर्ने मात्रै कार्यसूची तय भएपछि मंगलबारदेखि बजेटमाथि छलफल हुने अपेक्षा गरिएको थियो । तर बजेटका सन्दर्भमा सत्ता गठबन्धनका दल नै एकमत नहुँदा प्रदेश सभाको अर्को बैठक पनि अनिश्चित बनेको छ ।

सत्तारुढ गठबन्धनका दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले बजेट यथास्थितिमा पास गर्न नसकिने बताउँदै आएका छन् । माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले जनताको आवश्यकता र औचित्य विपरीत बजेट आएको तर्क गरेका छन् ।

आर्थिक मामिलामन्त्री नरेश शाहीकै दल एकीकृत समाजवादीले बजेटप्रति चर्को असन्तुष्टि राख्दै आएको छ । खास गरेर वार्षिक विकास कार्यक्रम र व्यय अनुमानका विषयमा सत्तारुढ दलभित्र असन्तुष्टि देखिएको छ । सत्ता साझेदार दलले यथास्थितिमा बजेट पारित गर्न नसकिने सामूहिक निर्णय नै गरेका छन् भने कांगेस सांसद समेत असन्तुष्ट छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको बजेट मुख्यमन्त्री र अर्थमन्त्री केन्द्रित रहेको टिप्पणी गरेको छ । आफैले ल्याएको बजेटमाथि छलफल नै नहुनु दुःखद भएको भन्दै प्रदेशसभामा गतिरोध बढेको एमालेको आरोप छ ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने सहमति जुटाउने प्रयास गर्दै आएको दावी गरिरहेको छ । तर, बजेट संशोधन गर्न नसकिने बताउँदै आएको कांग्रेसले कसरी गठबन्धनको असन्तुष्टि सम्बोधन गर्ला भन्ने प्रश्न उब्जिएको छ ।

असार १ प्रस्तुत भएको बजेटमा शुरु देखिनै विरोध भएको थियो । प्रदेश सांसदले काठमाडौँ आएर शीर्ष नेतालाई भेटेर बजेट संशोधन गर्न दबाब दिएका थिए । तर, शीर्ष नेताबाट कुनै जवाफ नआएपछि सुदूरमा बजेटका कारण सत्ता संकट गहिरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *