२६ असार २०८० काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि भएको छ ।
लामजुरामा भएको दुर्घटनामा एउटा शव हेलिकप्टरले थिचिएको अवस्थामा प्रहरीले फेला पारेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिनुभयो ।
यसअघि ५ जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी आएको थियो । हेलिकप्टरमा २ पुरुष र ३ महिला गरी ५ जना मेक्सिकन नागरिक सवार थिए।
हेलिकोप्टरमा पाइटल चेतबहादुर गुरुङले उडाएका थिए । दुर्घटनामा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस सवार थिए। उनीहरु मेक्सिकोदेखि नै सँगै नेपाल घुम्न आएका थिए। आइतबार काठमाडौंमा बसेर उनीहरु सोमबार मनाङ एयरको हेलिकोप्टरमार्फत सोलुखुम्बुको लुक्ला पुगेका थिए।
उनीहरु माउन्टेन फ्लाइटका लागि लुक्ला गएका थिए। हिजो लुक्लामै बसेका उनीहरु आज काठमाडौं फर्किने क्रममा दुर्घटनामा परेका हुन्।
बिहान १० बजेर ५ मिनेटमा उडेको नाइन एन एमभी कलसाइनको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । लुक्ला विमानस्थलमा मौसम खराब भएकाले काठमाडौंबाट गएको हेलिकोप्टर सुर्केमा अवतरण गरिएको थियो । यात्रुलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो ।
प्रतिक्रिया