Main News

एक सय ५० शय्याको अस्पताल बनाउन कोरियासँग सम्झौता

२०८० असार २६ गते १३:४०
एक सय ५० शय्याको अस्पताल बनाउन कोरियासँग सम्झौता

२६ असार २०८० काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । संझौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख (रू एक अर्ब २५ करोड ४० लाख) लगानी गरिने भएको छ ।

आगामी पाँच वर्ष (सन् २०२७) सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको सो परियोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवम् समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), मध्यपुर थिमि नगपालिका र उक्त अस्पतालले संयुक्त रहने भएको छ।

संझौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने यस साझेदारीका लागि कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । यो परियोजनालाई सफलरूपमा कार्यान्वयनमा ल्याउन सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताउनुभयो । द्विपक्षीय कूटनीतिक सम्बन्धको ५०औंँ वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उहाँको भनाई थियो ।

अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्नुभयो भने कोइकाका निर्देशक कोङ मुहओनले कोइका नेपालका विभिन्न स्वास्थ्य परियोजना कार्यान्वयनमा सक्रिय रहेको र हरेक परियोजनाले विशिष्ट उपलब्धि हासिल गरिरहेको बताउनुभयो ।

यस अस्पतालको दोस्रो चरणको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पु¥याइने जानकारी उहाँले दिनुभयो ।

त्यसअवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कोइका र उक्त अस्पतालका प्रतिनिधिको उपस्थिति थियो । सो परियोजनाअन्तर्गत गुणस्तरीय अस्पताल व्यवस्थापन, सङ्क्रमण नियन्त्रण र स्वास्थ्य क्षेत्र सुधारका लागि पूर्वाधार तयार गर्ने तथा कर्मचारीको क्षमता अभिवृद्धि गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *