Main News

राष्ट्रपतिको उपचार खर्च, अनेरास्ववियूले थाल्यो एक रुपैयाँ अभियान (भिडियो रिपोर्टसहित)

२०८० असार २० गते २०:५१
राष्ट्रपतिको उपचार खर्च, अनेरास्ववियूले थाल्यो एक रुपैयाँ अभियान (भिडियो रिपोर्टसहित)

२० असार २०८० काठमाडौं । भारतमा गराइएको महंगो उपचार खर्चबारे प्रश्न उठेसँगै शीतल निवासले गत बैशाख १९ गते विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेल आफैंले उपचार खर्च व्यहोर्ने चाहना व्यक्त गरेको बताएको थियो । तर अहिले राष्ट्रपति कार्यालयले उपचार खर्चको बिल भर्पाइ अर्थ मन्त्रालयमा बुझाएपछि अर्थले बजेट निकासाको तयारी गरेको छ । यस कार्यको चौतर्फी आलोचना सुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नै प्रतिबद्धताविपरीत उपचार खर्चका लागि परराष्ट्र मन्त्रालय मार्फत अर्थमन्त्रालयमा बिल भर्पाइ पठाएपछि उहाँको यसअघि भनिएको सादगी र स्वच्छ चरित्र माथि प्रश्न उब्जिएको छ ।

शीतल निवासले उपचार खर्च नभनी एयर एम्बुलेन्स मार्फत भारतको अस्पताल जाँदा भएको खर्चलाई यातायात खर्च शीर्षकमा कुल ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । यो पत्र बाहिरिएसँगै आलोचना मात्र होइन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले त राष्ट्रपतिको सहयोगार्थ प्रति व्यक्ति १ रुपैयाँ चन्दा उठाउने व्यांग्यात्मक अभियान नै थालेको छ ।

राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो ।भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको परिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७४ मा मेडिकल बोर्डले सिफारिस नगरेको हकमा यस्तो खर्च आफैले बेर्होनु पर्ने बाध्यकारी व्यवस्था छ । यतिबेला शीतल निवासले राष्ट्रपतिको यातायात खर्चको मात्र बिल पठाएकाले उपचारको खर्च कसले व्यहोर्दैछ, मेडिकल बोर्डले सिफारिस गरेर उपचारको अर्को बिल पठाउन लागिएको हो कि वा राष्ट्रपति पौडेलले व्यहोरिसक्नु भएको हो भन्ने विषय गुमराहमा राख्ने प्रयत्न भइरहेको छ ।

वैशाखमा भारतमा उपचार गराएर फर्किए यता पनि राष्ट्रपति पौडेल पटकपटक बिरामी पर्नु भएको छ। एमाले निकट विद्यार्थी संगठनले राष्ट्रपतिले राज्यकोषको दोहन गरी उपचारको नाममा पैसा बुझिरहेको आरोप लगाउँदै एक रुपैयाँ चन्दा अभियान सुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *