Main News

राष्ट्रपतिको उपचार, राज्यमाथि व्ययभार (भिडियो रिपोर्टसहित)

२०८० असार २० गते २०:४७
राष्ट्रपतिको उपचार, राज्यमाथि व्ययभार (भिडियो रिपोर्टसहित)

२० असार २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको दिल्लीमा उपचारका लागि जाँदा लागेको खर्च आफैंले बेर्होने चाहना रहेको भन्दै विज्ञप्ती नै जारी गर्नु भएको थियो ।

परराष्ट्र मन्त्रालयले उपचार खर्चका लागि रकम भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पठाएपछि आफैंले तिर्ने चाहना प्रकट गरेका राष्ट्रपति पौडेलले जनतालाई आँखामा छारो हाल्न खोजेको पुष्टि भएको छ । राष्ट्रपति पौडेलले जनतालाई गुमराहमा राख्ने प्रयास गर्दा परराष्ट्र मन्त्रालयले उहाँको झुट लुकाउने प्रयास गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल गत बैशाख ६ मा उपचारका लागि भारतको दिल्ली जानु भएको थियो । श्री एअरको विमानलाई एअर एम्बुलेन्सको रुपमा प्रयोग गरी उपचार गर्न जाँदा सुरुमा राष्ट्रपतिको स्वास्थ्य अवस्था नै गुपचुप राख्ने प्रयास भएको थियो ।

नेपालमा उपचार सम्भव भए पनि सरकारी खर्चमा दिल्ली गएको भन्दै राष्ट्रपति पौडेलको चर्को आलोचना भएको थियो । त्यसपछि सचिवालयले विज्ञप्ति जारी गरेर पौडेलले उपचार खर्चमा लागेको सम्पूर्ण रकम बेर्होने चाहना प्रकट गरेको जनाएको थियो ।

उहाँको यो प्रतिबद्धता अहिले आएर जनताको आँखामा छारो हाल्नकै लागि मात्रै रहेको पुष्टि भएको छ । मन्त्रिपरिषद् बैंठकको निर्णयबाट परराष्ट्र मन्त्रालयले रकम निकासाका लागि पत्र पठाएको छ ।

उपचारका लागि जाँदा यातायात खर्चबापत् मात्रै ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ खर्च भएको र उक्त रकम भुक्तानीका लागि अर्थमन्त्रालयलाई परराष्ट्रले पत्र पठाएको हो । राष्ट्रपति पौडेलको उपचारमा लागेको खर्च भूक्तानीका लागि परराष्ट्र मन्त्रालयले पत्र पठाएको अर्थले पुष्टि गरेको छ ।

अर्थ मन्त्रालयले पत्र आएको पुष्टि गरिक्दा परराष्ट्र मन्त्रालयले भने ढाकछोपको प्रयास गर्‍यो ।
उपचार खर्च आफैले व्यहोर्ने बताएका राष्ट्रपतिले किन सरकारसँग पैसा लिन लाग्नु भयो भन्ने प्रश्नको उत्तर खोज्न हामीले उहाँको सविचालयलाई सम्पर्क गर्ने प्रयास गर्यौं । तर सचिवालयका कुनै पनि सदस्य सम्पर्कमा आउन चाहेनन् ।

राष्ट्रपति पौडेललाई सादगी नेताका रुपमा चिनिँदै आइएको थियो । तर उपचारका नाममा गरेको राज्य कोषको दोहनले यो मान्यतालाई उहाँ आफैंले खण्डित गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *