Main News

संसदीय समितिको नेतृत्वमा प्रमुख तीन दलबीच सहमति

हिमालय टिभी
२०८० असार १९ गते १३:५४
संसदीय समितिको नेतृत्वमा प्रमुख तीन दलबीच सहमति

१९ असार २०८० काठमाडौं । सभामुखले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफलमा संसदीय समितिको सभापति तत्काल चयन गर्ने सहमति भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले जानकारी दिनुभयो । उहाँले समितिको सभापतिमा पूर्व सहमति अनुसार नै हुने बताउनुभयो ।

बैठकपछि सभामुख देवराज घिमिरेले अब आफूलाई संसदीय समितिको सभापति चयन गर्ने बाटो खुलेको बताउनुभयो । उहाँले सभापति चयन गर्दा भएसम्म समझदारी नभए निर्वाचनबाट गर्ने बताउनुभयो । प्रतिनिधि सभामा १० वटा विषयगत समिति र २ वटा संयुक्त समिति छन् ।

जसमा प्रमुख प्रतिपक्षी एमालेलाई एक संयुक्त समिति र दुई विषयगत समितिको नेतृत्व दिने सहमति भएको थियो । एमालेले सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति पाउने पक्काजस्तै छ । अर्को कुन समिति दिने भन्नेबारे सहमति भइसकेको छैन ।

सत्तारूढ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाभित्र कुन समिति कसले लिने भनेर भागबन्डा मिलेको छैन । दलहरुबीच संसद्‍मा उपस्थितिका आधारमा समितिको नेतृत्व दिने सहमति भए पनि कुन दललाई कुन समिति दिने भन्ने यकिन हुन बाँकी छ ।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक बसेको थियो । तर, सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *