Main News

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८० असार १८ गते २१:१८
पेट्रोलियम पदार्थको मूल्य घट्यो

१८ असार २०८० काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।

मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरी मूल्य समायोजन गरिएको निगमले जनाएको छ । डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रतिलिटर पहिलो वर्गमा सात रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा रु छ र तेस्रो वर्गमा रु पाँचले मूल्य घटाइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।

पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ६९ र तेस्रो वर्गका क्षेत्रमा एक सय ७० तोकिएको छ । यसअघि पेट्रोलको मूल्य देशभर प्रतिलिटर रु एक सय ७५ थियो ।

यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा रु एक सय ४९ र तेस्रो वर्गका क्षेत्रमा रु एक सय ५० निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढीलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायललाई तेस्रो वर्गमा राखेको छ ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर रु १४ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक सय १५ अमेरिकी डलरले मूल्य घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *