Main News

ललिता निवासको जग्गामा के छन् संरचना ? (भिडियो रिपोर्टसहित)

२०८० असार १८ गते २१:१३
ललिता निवासको जग्गामा के छन् संरचना ? (भिडियो रिपोर्टसहित)

१८ असार २०८० काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका अस्थायी संरचना हटाउन महानगरले निर्देशन दिएको छ ।

सरकारी निकायहरुकै संलग्नतामा हडपिएको ललिता निवासमा रहेका संरचना हटाएर महानगरले तारजाली गर्ने तयारीसमेत गरेको छ । यहाँ के(के संरचना बनेका छन् त ?

ललिता निवासको जग्गाले चर्चेको सम्पूर्ण भूभागमा तारजाली लगाउने घोषणा गर्दै आइतबार काठमाडौं महानगरपालिकाले नगर प्रहरी पठायो । बालुवाटार पुगेको नगर प्रहरीले जग्गामा निर्माण सामग्री थुपारिएको र केही संरचना बनेको पाएपछि तत्काल तिनलाई हटाउन निर्देशन दिएर फर्कियो ।

एक सय ४३ रोपनी क्षेत्रफलमा रहेको यो जग्गाको अधिकांश भाग अहिले पनि खाली छ । प्रधानमन्त्री निवास र राष्ट्र बैंकको नयाँ भवनको आडैमा रहेको यो जग्गामा राष्ट्रिय सभाका अध्यक्ष को सरकारी निवास अगाडि गैरआवासीय नेपाली संघको भवन छ । यो भवन जग्गा खरिद गरेर बनाएको एनआरएनले बताउँदै आएको छ । यसको छेवैमा भाटभटेनी सुपर स्टोरको स्टोर रुम छ

त्यसको नजिकै सातवटा अत्याधुनिक घर सहितको बालुवाटार आवास बनेको छ । ललिता निवासको सरकारी जग्गामा अहिलेसम्म तयार भएका मुख्य संरचना यीनै हुन् । तर यो जग्गामा केही अस्थायी प्रकृतिका संरचना पनि बनेका छन् । जस्तो राष्ट्रबैंकको नयाँ बन्दै गरेको भवनका निर्माण सामाग्री यही जग्गामा राखिएको छ भने काम गर्ने मजदुर पनि यही बस्दै आएका छन् । त्यस्तै यहाँ एउटा नीजि नर्सरी पनि छ ।

एउटा अस्थायी टहरामा स्वास्थ्य उपकरण राखिएको छ । अर्कोतर्फ ग्यारेज पनि यही जग्गामा छ । कवाडी सामाग्री थुपार्ने स्थलका रुपमा यो जग्गाको केही भाग प्रयोग भएको छ । अहिले महागनरपालिकाले यीनै अस्थायी संरचना हटाउन निर्देशन दिएको हो ।

यहाँ सामान राखेका केही कम्पनी महानगरको निर्देशनअनुसार ठाउँ खाली गर्न तयार देखिन्छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धानका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ सहित केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि ललिता निवास पुनः चर्चामा आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *