Main News

अन्तरजातीय विहे गर्दा दलितको घरमा आगजनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० असार १८ गते २१:०१
अन्तरजातीय विहे गर्दा दलितको घरमा आगजनी (भिडियो रिपोर्टसहित)

१८ असार २०८० सुर्खेत । गैर–दलितसँग प्रेम गरेको निहुँमा ३ वर्षअघि रुकुम पश्चिममा नवराज विक मारिए । नवराज मात्र नभई ठूलो मानवीय संहार भएका कारण यो घटना सबैले थाहा पाए । तर, अन्तरजातीय प्रेम वा विवाह गर्नेमध्ये अधिकांश सामाजिक प्रताडनामा पर्ने गरेका छन्।

कानूनले जातीय छुवाछुत गर्नेलाई तीन वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँको व्यवस्था गरेको छ। तर, कानूनी प्रबन्धको खिल्ली उडाउँदै व्यक्ति, समाज अमानवीय हकर्त गर्न उद्दत रहँदा फेरि जुम्लामा गैर(दलित युवती भगाएको आरोपमा दलित युवाको घरमा आगो झोसिएको छ।

यो घर दुर्घटनावश आगलागीको शिकार बनेको होइन दन्किएको होइन । यो त नियोजित ढंगले लगाइएको आगो हो । जुम्लाको तातोपानी गाउँपालिकास्थित गिडीखोलाका मुकुन्द नेपालीले कथित माथिल्लो जातकी किशोरीलाई भगाएको आरोपमा उनको घरमा आगजनी गरिएको हो ।

मुकुन्दले असार ११ गते गाउँकी बसन्ती गिरीलाई भगाए । त्यसको चार दिनपछि बसन्तीका दाइ हिक्मत गिरीले मुकुन्दको घरमा आगो लगाइदिए । तर, घरमा कोही नभएकाले मानवीय क्षति भने हुन पाएन । २१ वर्षीय मुकुन्द नेपालगञ्जमा अध्ययन गर्छन् । केही महिनादेखि गाउँमै बसेका उनले १४ वर्षीया बसन्तीलाई भगाएका थिए ।

आगजनीको आरोपमा प्रहरीले हिक्मत गिरीलाई पक्राउ गरेको छ भने उनका बुबा श्रीराम गिरी र काका नारायण गिरीविरुद्ध पनि किटानी जाहेरी दर्ता भएको छ । उनीविरुद्ध ‘आपराधिक उपद्रव र जातजातिका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर’मा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रेम गरेको र भागेको बहानामा जुम्लामा घर दन्किरहँदा कर्णाली प्रदेशको राजधानीमा भने दलित समुदाय आफ्नो हक हितका लागि आन्दोलन गरिरहेका थिए । बादी र दलित समुदायको पुनर्उत्थान गर्ने सरकारको योजना अनुसार बजेट नआएको भन्दै आन्दोलित भएका समुदाय जुम्लामा भएको घटनापछि थप आक्रोशित भएका छन् ।

नेपाल दलित मुक्ति संगठनले विज्ञप्ति जारी गर्दै गिरीले मुलुकी अपराध संहिता, २०७४ र जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर सजाय ऐन २०६८ विपरीत कसुर गरेको भन्दै त्यसअनुसार मुद्दा दर्ता गरी कानुनी कारबाही गर्न प्रहरीको ध्यानाकर्षण गराएको छ ।

दलित समुदायको परिवारलाई कुटने, पिट्ने, घरमा आगो लगाउने र उठीवास लगाउनेदेखि ज्यानै लिनेसम्मका घटना भइरहे पनि केही मात्रै सार्वजनिक हुन्छन् । यद्यपि समाजमा कायम रहेको यस्तो अमानवीय चलनलाई तोड्न अन्तरजातीय विवाह गर्नेको संख्या थपिँदो छ । तर, राज्यले ढाडस र समाजले प्रोत्साहन नदिँदा कानून नै कुल्चिएर अमानवीय आपराधिक हर्कत रोकिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *