Main News

संघ र प्रदेश सरकारको बेवास्ताले पीडामा पाँचथर (भिडियो रिपोर्टसहित)

२०८० असार १७ गते १७:४७
संघ र प्रदेश सरकारको बेवास्ताले पीडामा पाँचथर (भिडियो रिपोर्टसहित)

१७ असार २०८० पाँचथर । पाँचथरमा असार २ गते राति आएको बाढीले हेवाखोलाको पुल बगायो । बाढीमा पाँचथरमा १ बालिकासहित ६ जना बेपत्ता भएकोमा हालसम्म ३ जनाको मात्र मृत्यु पुष्टि भएको छ ।

ठुलो धनजनको क्षति भएको प्राकृतिक प्रकोप पश्चात यहाँका नागरिक अहिले त्यसबाट उत्पन्न परिस्थितिको सामना गर्न जुटिरहेका छन् । संघ, प्रदेश सरकारले बेवास्ता गर्दा फालेलुङ गाउँपालिका थप पीडामा छ । सडक, खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । सडक सञ्जालसँग सम्पर्क विच्छेद भएको छ । मनसुनको सुरुमै पीडा थपिएका कारण फेरि बज्रपात पर्ने फालेलुङवासीमा त्रास पैदा भएको छ ।

असार ३ मा आएको बाढी र पहिरोका कारण सडक सञ्जाल विच्छेद हुँदा उद्दार गरिएकी बालिकालाई समयमा अस्पताल लैजान नसक्दा उनको मृत्यु भयो । पाँचथरमा भएको यो मृत्युले सबै झस्काएको छ ।

२०७४ को पहिरोको पीडा भुलाउन नपाउँदै फेरि विपद्को सामना गरेको पाँचथर अहिले शोकमा छ । जिल्लाको फालेलुङ गाउँपालिकाका नागरिक अझै त्रशित छन् । सडक र पुलमात्र होइन, विद्यालयमा र खेतीयोग्य जमिनमा पनि क्षति पुगेको छ ।

सरकारका मन्त्री हेलिकोप्टरमा सदरमुकाम आए, प्रधानमन्त्री मौसम खराब भएकाले सदरमुकाम नजिक घुमेर फर्किए । पुल बगाएकाले गाँउपालिका केन्द्रसहित विभिन्न वडामा सदरमुकाम र अन्य क्षेत्रसँग सडक सम्बन्ध टुटेको छ ।

यति ठूलो विपद्को सामना गाउँपालिका एक्लैले गरिरहेको छ । संघ तथा प्रदेशबाट कुनै प्रकारको राहत आएको छैन । मोटरेबल पुल बगाएका कारण आवागमन ठप्प हुँदा पुल बनाउन तीनै तहको सरकार असफल सिद्ध भएका छन् ।

संघ र प्रदेशले चासो नदिएपछि हेवा खोलमा ड्राइभसन बनाउन गाउँपालिका आफैंले ह्युमपाइप किनेर ल्याएको छ । गाउँपालिकाको तथ्यांकअनुसार ६५ परिवार विस्थापित भएका छन् ४२ परिवार अझै पनि उच्च जोखिममा छन् । गाउँपालिकामा दुईवटा पक्की पुलमा पूर्ण क्षति भएको छ ।

एउटा झोलुङ्गे पुल बगाएको छ भने दुईवटामा क्षति पुगेको छ । आठवटा सिँचाइ कुलो बगाएको छ भने विभिन्न ठाउँका खानेपानीको मुहानको नामोनिसान छैन । सडक अवरुद्ध भएपछि खाद्यान्न लगायतका समाग्रीको समेत अभाव हुन थालेको छ । अत्यावश्यक सामग्री बोकेर लैजानुपर्ने बाध्यता छ । विरामीलाई सदरमुकाम पुर्‍याउन उत्तिकै सास्ती छ ।

भौगोलिक रुपमा विकट यो क्षेत्रमा बाढी, पहिरोले ठुलो क्षति पु¥याएको छ । विपद्को बेला संघ र प्रदेश सरकारको अभिभावकत्व नपाउँदा नागरिक थप पीडित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *