जनमत पार्टीलाई सरकारमा फर्कन प्रधानमन्त्री प्रचण्डको आग्रह
१७ असार २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनमत पार्टीलाई सरकारमा फर्कन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारमा फर्कन आग्रह गर्नुभएको हो । जनमतले सरकारलाई दिएको समर्थन फिर्ता नलिने प्रधानमन्त्रीको विश्वास छ ।
अध्यक्ष राउतले प्रधानमन्त्रीसँगको भेट सकारात्मक रहेको पार्टीका नेताहरुलाई ब्रिफिङ गर्नुभएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेकोमा उसको भागमा खानेपानी मन्त्रालय पर्यो ।
जनमतबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले गत चैत १७ गते राजीनामा दिनुभएको थियो ।
मन्त्रीको राजीनामा पछि पनि जनमतले सरकारलाई लिएको समर्थन भने कायमै राखेको थियो । तर विनियोजन विधेयकको विपक्षमा उभिएको जनमतले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनु पर्ने आवाज उठेको छ । प्रत्यक्ष तर्फ एक सीट जितेको जनमत पार्टीको संसदमा छ सांसद छन् ।
प्रतिक्रिया