राजनीति

माओवादी एकता प्रयास : फेरि उठ्ला त माओवादी ? (भिडियो रिपोर्टसहित)

२०८० असार १६ गते २१:०७
माओवादी एकता प्रयास : फेरि उठ्ला त माओवादी ? (भिडियो रिपोर्टसहित)

१६ असार २०८० काठमाडौं । माओवादीलाई पुरानै हैसियतमा पुर्याउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागि पर्नुभएको छ । संसदीय यात्रामा आएपछि माओवादी टुक्राटुक्रामा विभाजित बन्यो।

संविधानसभाको पहिलो निर्वाचनमा पहिलो दल बनेको माओवादी ९ टुक्रामा विभाजित बनेको छ । माओवादी धारलाई एकतामा बाँध्ने प्रचण्डको तयारी छ । जनता समाजवादी पार्टीलाई मिलाएर ४ दलको समाजवादी मोर्चा बनाउनुभएका प्रचण्ड संसदीय राजनीतिमा पुरानै विरासत फर्काउने दाउमा हुनुहुन्छ । तर, नेता व्यवस्थापनमा सर्तकता नअपनाएमा भने माओवादी बौरिने भन्दा पनि थप टुक्रिने खतरा बढी छ ।

१० वर्षे लामो भूमिगत माओवादी शान्ति प्रक्रिया हुँदै पहिलो पटक २०६४ सालको निर्वाचन फेस गर्यो । सो निर्वाचनमा माओवादीलाई जनताले राम्रै पत्याए । प्रतिनिधिसभाका ६०१ सिट मध्ये माओवादीले एक्लै २२९ सिट जित्यो । प्रत्यक्षमै उसको १२० सिट थियो । पहिलो निर्वाचनमै पहिलो दल बनेको माओवादीले त्यस यताका निर्वाचनमा भने निरन्तर साख गुमाइरहेको छ ।

योबीचमा विभिन्न कारण देखाउँदै माओवादी नेताहरु धामधम पार्टी छाड्न थाले । २०७० को दोस्रो संविधान सभा निर्वाचन पहिले सशस्त्र द्वन्द्वमा होमिएको माओवादीको ठूलो पङ्ति सेना समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै पार्टीबाट अलग भए । २०६९ सालमा मोहन वैद्य, रामबहादुर थापा बादल, सीपी गजुरेल, जयपुरी घर्ती, पम्फा भुसाल, नेत्रविक्रम चन्द विप्लव लगायत नेताले माओवादी पार्टी छाडे । जसको प्रत्यक्ष असर २०७० को निर्वाचनमा देखियो ।

२०६४ मा २२९ सिट सहित पहिलो बनेको माओवादी ६ वर्षपछि ८३ सिटमा खुम्चियो । प्रत्यक्षमा त माओवादीले २६ सिट मात्रै जित्यो । प्रचण्डलाई दरिलो साथ दिनेहरु निरन्तर छोड्ने क्रम जारी थियो । २०७२ मा संविधान जारी भएको केही दिनमै बाबुराम भट्टराईले पनि पार्टी छाडे । निरन्तर आफ्नो साख गुमाइरहेको माओवादी २०७४ को निर्वाचनमा एमालेसँग तालमेल गर्दा पनि ५३ सिटमा खुम्चियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गरेको माओवादी केन्द्र संसदीय झनै कमजोर बन्यो । यो निर्वाचनमा माओवादी ३२ सिटमा झर्यो । प्रत्यक्षमा १८ सिटमा मात्रै विजयी भयो । यसरी निरन्तर खराब हुँदै गएको माओवादी केन्द्रको साख जोगाउन अध्यक्ष प्रचण्ड लागिपर्नुभएको छ ।

सोहीकारण उहाँ पछिल्लो समय बाम एकता, बाम मार्चो, समाजवादी केन्द्र, पूर्वमाओवादीबीचको एकता लगाएको अनेकन तिकडम अपनाइरहनुभएको छ । शनिबार त उहाँले पूर्वमाओवादीबीच पार्टी एकताको लगभग कुरा मिलिसकेको उद्घोष गर्नुभयो । के माओवादी नेताहरु पार्टी एकीकरण नजिक पुगेका हुन् ?

यसअघि गत असार ४ गते प्रचण्डले आफ्नो अग्रसरतामा अन्य तीन पार्टीलाई मिलाउँदै समाजवादी मोर्चा बनाउनुभयो । समाजवादी मोर्चाबाट नेत्रविक्रम चन्द विप्लव पार्टीमा आउने हल्ला चलेपछि केही नेता असन्तुष्ट देखिन्छन् । यदि उहाँ आए आफ्नो पद खोसिने भन्दै ति नेता झस्किएका छन् ।

अर्कोतर्फ पार्टीभित्रै पनि अघोषित गुट छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माबीच त सरकार गठनको समयमा फरक मत राखेको विषय सतहमै आएको थियो । यस्तै नारायणकाजी श्रेष्ठको पनि आफ्नै गुट छ । पूर्व माओवादीलाई आफ्नो नेता मान्न पार्टीका नेता तयार छन् त ?

अझै पुरानालाई ल्याउँदा गुट उपगुटको संख्या अझै बढ्ने खतरालाई नकार्न सकिन्न । यस्तोमा बौरिने प्रयास गरेको माओवादी केन्द्र र अध्यक्ष प्रचण्डलाई झन् खति पो हुन हो कि भन्ने खतरा पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्